आरसी टाइम्स
मुस्ताङ्ग, कार्तिक ५
पर्यटकीय हिमाली बस्तीहरुमा पाहुनाहरुका लागि भान्सामा विभिन्न परिकारको खाँचो पुरा गर्न हिमाली समुदायले वन्य बनस्पतिका उपयोगबाट आकर्षक परिकार बनाउने जुक्तिहरु अपनाउन थालेका छन् । यस्ता परिकारहरुमा म्याग्दी जिल्लाका हिमकाँठे बस्तीहरुमा ढकायोको सिन्की र अचार लोक प्रिय छ भने हिमाली जिल्ला मुस्ताङ्गमा डाले चुक अर्थात तोराको उपयोगबाट बनेको अचार लोकप्रिय हुने गरेको छ । हिमाल पारिको बस्ती पयृटन सृंखलामा म्याग्दी को भुरुङ्ग तातोपानी देखि मुस्ताङ्गको ल्होमन्थाङ्ग सम्मका होटलहरुमा डाले चुक तोराको अचार लोकप्रिय पाइएको छ । पर्यटकीय होटलहरुमा लप्सीको स्वादमा पाइने अचार हिमाली डालेचुक नामको स्थानीय तोरा बनस्पतिबाट बनाइने गरेको मूस्ताङ्ग लु–टाक गाउँका ग्याल्जेन सोनाम गुरुङ्गले बताए ।
तलबाट आउने पाहुनाहरुले निकै मन पराउने, नुनिलो, गुलीयो र अमिलो स्वादमा बनाउने भएकाले यो अचार हिउँद पूर्वको मौसमी भान्साका लागि उपयोगी भएको कागबेनीकी होटल संचालिका सेरिना गौचनले बताइन् ।
यसो त यो अचार उत्पादन गरेर उपल्लो मुस्ताङ्गका स्याङ्गबोचे, चराङ्ग र लोमनथाङ्गका होटलहरुमा पनि वितरण हुने गरेको, मुल्यसृंखलामा जोडिएका होटलहरुमा जाने गरेको ल्होमन्थाङ्गका सोनाम रिन्जीन गुरुङ्गले बताए । तल्लो मुस्ताङ्गको लेते, झारकोटमा यस्तो अचार उत्पादन गरेर होटलहरुमा वितरण गर्ने तथा ग्राहकको रोजाइको स्वादका परिकार मिश्रण गरेर कच्चा पदार्थ पकाएर अचार बनाउने गरेको जोमसोमकी डुमाया गूरुङ्गले बताएकी छन ।
डालेचुक बनस्पति पत्झड प्रवृत्तिको झाडिदार बनस्पति भएको र माइनस ४३ डिग्री सम्म पनि वाच्न सक्ने क्षमताको रहेको कृषि वैज्ञानिक रामबहादुर केसीले बताएका छन् । खासगरी हिमाली भूगोलमा भूक्षय रोक्न , माटोमा नाइट्रोजन मल समेत दिन सक्ने गुण भएको यसको फल अति पौस्टिक हुन्छ । यसको फलको रसबाट जाम, वाइन , कस्मेटिक सामाग्री बनाउन सकिने पनि वैज्ञानिक केसीले जनाएका छन् । वैज्ञानिक केसीका अनुसार नेपालमा दुइ प्रजाति डालेचुक पाइने र नेपाल बहेक भरत चीन, मङोलिया, पकिस्तान, यूरोप तिर पनि फरक प्रजातीका पाइन्छन् ।
नेपालका उच्च हिमाली क्षेत्रहरू, जस्तै मुस्ताङ, मनाङ, र सोलुखुम्बुमा पाइने गरेको र स्थानीय जनबोलीमा तोरा भन्ने गरिएको कृषि विज्ञ नेत्र भट्टले जनाएका छन् ।
यसका फलहरू साना, गोलो, र चम्किलो सुन्तला रंगका हुन्छन् भने यो पोषण र औषधीय गुणहरूले भरिएको बताइन्छ । डालेचुकको फलमा भिटामिन सी, भिटामिन ई, भिटामिन ए, र ओमेगा फ्याटी एसिड जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइने भएकाले यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुनाले होटल पर्यटनमा यसको परिकार उच्च माग हुने गरेको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रहरूमा प्रभाव पारिरहेकोले, डालेचुकको वृद्धि र उत्पादनमा पनि चुनौतीहरू उत्पन्नहुन सक्ने बताइएको छ । यो वन्य वस्पतिको घरेलु उपयोगका लागि अनुकुलन उत्पादन र प्रसोधन तथा बजारिकरण गर्न सकेमा हिमाली क्षेत्रका समुदायहरूको जीवनस्तर सुधार गर्न मद्दत र्पुयाउन सक्छ ।