आरसी टाइम्स व्युरो
पोखरा,
बजारमुखी फलफुल खेति गर्दै आएका किसानहरुले नर्सरीहरुको गुणस्तर नियमन नभएको मौका पारी जातीय शुद्धतामा कमजोरी गरेको र विरुवाको फसल लिने बेलामा किसानलाई नोक्सान भएको गुनासाहरु संचारमाध्याममा आएपछि गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले फलफुल विरुवा गुणस्तरका लागि नर्सरी व्यवस्थापन निर्देशिका तयारी थालेको छ ।
प्रदेशका ११ जिल्लाका कृषि ज्ञान केन्द्रहरुको पहिलो चौमासिक क्रियाकलापहरुको समिक्षाका लागि पोखरामा गरिएको २ दिने समिक्षाका क्रममा विरुवामा जातिय शुद्धताको सुनिश्चितताका लागि नर्सरी व्यवस्थापन निर्देशिका बनाउन लागिएको प्रदेशका कृषि निर्देशनालय प्रमुख बासुदेव रेग्मीले बताए । हालै कागती वगैचामा मा सोना कागती को बेर्ना भनि रोपिएकोमा ३ वर्ष पछि अकै जातको फल लागेको पहिचान भएको पाइए पछि आगामी दिनमा हुनसक्ने व्यवसायिक जोखिम नियन्त्रणका प्रदेश सरकारको आशन्न क्याविनेट बैठकमा पेश गर्ने गरि प्रदेशका कृषि विज्ञहरुको सहभागीतामा यो निर्दैशिकाको मस्यौदा तयार गरिएको बताइएको छ ।
प्रदेशको विउविजन गुणस्तर नियमनका लागि पनि संघिय विउ विजन ऐनले तोके बमोजिम प्रादेशिक विउविजन गुणस्तर नियमनका लागि पनि निर्देशिकाको मस्यौदा बनाउन थालिएको जनाइएको छ । प्रदेशका फलफुल नर्सरी तथा विउ विजनको गुणस्तर व्यवस्थापनका लागि संघिय सरकारले तोकेका र तोक्न बाँकी रहेका विषयमा पनि कार्यसम्पादन गर्न आवश्यक नितिगत व्यवस्थाका लागि कृषि विकास निर्देशनालयले गृहकार्य थालेको बताइएको छ ।