आरसी टाइम्स
बागलुङ्ग, पौष १८
पर्यटकीय गतिविधि बढेसँगै सहरी उपभोक्ता र पर्यटकहरुका लागि रुचीकर बन्दै गएको स्थानीय जातको कागती बागलुङ्ग क्षेत्रमा पनि लोकप्रीय हुँदै गएको छ । समुन्द्री सतह देखि १८०० मिटर उचाइसम्म ब्यावासायिक खेती गर्न सकिने रैथाने जातको कागती उत्पादन गर्दै आइरहेका धमाधम निसिखोला गाउँपालिका—४ झिम्पा, बाग्लुङ्गका रेमबहादुर भट्टराईलेसंचालन गर्दै आएको जीवन पोल्ट्री फर्म तथा विविध कृषि केन्द्रले व्यवसायिक पहिचान अग्लो बनाउँदै लगेको छ ।
बाग्लुङ्ग निसिखोला ४ झिम्पाको रैथाने कागती तराइको सुन कागती भन्दा कम नभएको कृषि ज्ञान केन्द्र बाग्लुङ्गका प्रमुख भानुभक्त भट्टराइले जनाएका छन् । करिव १५ वर्ष कतारमा सवारी चालकको रुपमा काम गर्दै फर्कीएर निसीखोला कृषि इलम गर्न उत्साहित भएका रेमबहादुर गाउँमा अगुवा कागती किसानका रुपमा चिनिन थालेका छन् ।
नियमित हेरचाह गर्न नपर्ने खेतिभएकाले विरुवा थप्दै विदेश जादै गरेका रेमबहादुरले उत्पादन लिने बेला भएपछि विदेश जान छाडेर कागतीबाटै आयस्ताको बाटो बनाएको बताएका छन् ।
उनले उत्पादन गरेको कागती बजार विस्तार हुँदै बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाण्डौं पुग्ने गरेको बताएका छन् । करिव ४०० बोट कागती रोपेका रेमबहादुरको बगानमा १५० बोटले वर्षमा २५ क्वीन्टल जती उत्पादन दिने गरेको छ । बगैचा बाटै होलसेलमा प्रतिकेजी एक सयमा कागती विक्रि भइरहेको उनले बताएका छन् ।
बजारमुखी उत्पादनबाट उत्साहित भएका उनले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजना बनाइरहेका छन् । रेम बहादुरले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्ट्री फर्म तथा विविध कृषि केन्द्र स्थापना गरी कागती, टिमुर, मौरीपालन र हलुवावेद खेति गरिरहेका छन् ।