महेन्द्र जीसी, पर्वत, चैत्र २७ .
कृषि यान्त्रीकरणमा किसानलाई सहयोग गर्ने सरकारी निति अनुसार किसानलाई अनुदानमा दिइएको कृषि औजार किसानले दुरुपयोग गर्दै आफन्तलाई विक्रि गरेको रहस्य खुलेको छ ।
कृषि अनुदान पाएका किसानहरुबाटै सरकारी अनुदान दुरुपायोग भएको घटना बाहिर आएको हो ।फलेवास नगरपालिका ४ मुडीकुवाका विभिन्न समुहलाई उपलब्ध गराइएको मिनिटिलर हलोको दुरुपयोग भएको पाइएको छ ।
विगतमा अनुदानमा हलो मिनि टेलर लिएका किसानहरुले आफन्तलाई विक्री गरेको पाइएको छ ।चालु आर्थिक वर्षमा प्रधान मन्त्री कृषि आधुनीकीकरण परियोजना जोन मार्फत प्राप्त मिनि टेलर किसानले समुह भन्दा बाहीरका आफन्तलाई विक्रि गरेको तथ्य खुलेको स्थानीय किसान प्रकाश नेपालीले जनाएका छन् ।
स्थानीयको उजुरी पछि गरीएको अनुगमनमा यस्तो भेटीएको हो ।मुडीकुवा ४ मा रहेको श्रीसुवा कृषि उपज तथा सिँचाई समुहलाई प्राप्त मिनिटिलर हलो अध्यक्ष गणेश भुसालले आफन्त पर्नेलाई विक्रि गरेको पाइएको हो ।यस्तै थुमी कृषक महीला समुहलाई प्राप्त मिनि टेलर पनि समुहका सदस्य दिल बहादुर कुंवरले छोरीलाई विक्रि गरेको अनुगमनका क्रममा फेला परेको छ ।
कृषि ज्ञान केन्द्र पर्वत र प्रधान मन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यन्वयका ईकाई वाग्लुङले संयुक्त रुपमा हालै गरेको अनुगमका क्रममा यो तथ्य बाहिर आएको हो ।सरकारी अनुदान प्राप्त गरेर ल्याएको कृषि औजार अन्यत्र विक्रि वितरण गर्ने समुहलाई कालो सुचिमा राखेर कार्वाही गरीने अनुगमन टोलिले जनाएको छ ।
मुडीकुवामा चालु आर्थिक वर्षमा जोन परियोजनाले सामुदायीक कृषि विकास समुह, गौंडा बञ्चासे कृषक समुह, श्रीसुवा कृषि उपज तथा सिँचाई समुह र थुमी कृषक महिला समुहलाई १२ थान मिनिटिलर हलो अनुदानमा बाँडेको थियो ।