आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ८
धर्तिको सौन्दर्य नै यहाको जैविक विविधता हो र यहा उपलब्ध हरेक बनस्पति प्राणिको सुरक्षाका लागि उपयोगी छन् । प्राणी , वनस्पति र सुक्ष्म जीवका बीचमा पारस्परिक कुटुम्बको सम्बन्ध छ भन्ने मान्यताले विश्वव्यापीरुपमा जैविक विविधता दिवस मनाउन थालिएको छ । धर्तीमा मानव सभ्यताको सुरक्षाका लागि पनि धराको जैविक विविधता संरक्षण जरुरी छ र हरेक जीव र बनस्पतिसंग एकै स्वास्थ्य अन्तरसम्बन्ध छ भन्ने मान्यताले पनि ‘एक विश्व एक स्वास्थ्य’ अवधारणा सघन बन्दै गइरहेको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व जोगाउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ । हरेक वर्ष २२ मेका दिनमा मनाइने यो दिवस आज नेपालमा पनि ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ ।
जैविक विधितामा प्राणी जगत र वनस्पति जगतको अन्योन्याश्रित कौटुम्बकिताको मात्र कुरा नभएर यहाँ उपलव्ध अन्य पदार्थ र प्राकृतिक परिस्थीति सँगै हुने गरेका पारस्परिक अन्तरनिर्भरताका सबालहरुमा पनि समिक्षा हुनु वान्छित मानिन्छ । धराको जैविक सम्पदाको दोहोन गर्दै व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएको मानवले धराका हरेक सम्पदाको पारस्परिकता संरक्षण गर्न जिम्वेबार र जबाफदेहि दायित्व निर्वाह गरोस भन्ने मान्यताले हरेक वर्षको कार्यपात्रोमा जैविक विविधताको सचेतनाका लागि दिवस मनाउने प्रचलन रहदै आएको र विश्वका समाजलाई दायित्व बोध गराउन संयुक्त राष्ट्रसंघले अभियानमुलक सक्रियता पनि देखाउँदै आएको छ ।
जैविक विविधताको प्रतक्ष्य प्रभाव प्राणीहरुको भोजनका लागि उपलब्ध खाद्यान्नमा जोडिएको र एकै स्वास्थ्यको श्रृंखलाको लहरोमा माटो, पानी, खाद्यन्न र अन्य वनस्पति सँगै जीवहरुको आनुवांशिक श्रोत समेत जोडिएकाले बसुधैब कुटुम्बकमको जालोमा हामी सबै जोडिएका छौं भन्ने चेतना विस्तारमा यस्ता दिवसहरुको विशेष योगदान रहदै आएको छ ।
जैविक विविधताको सम्पदामा मानव अस्तित्व समेत जोडिएको सन्दर्भ कृषि सरोकारका पक्षहरुले मिहिन रुपमा बताउने गरेका छन् ।
बाली तथा पशु, मत्स्यका आनुवांशिक श्रोतको ह्रास भएमा विविधताको अभावमा मानिसकै खाद्य सुरक्षाको स्थिीति बिग्रन सक्छ ।
कीटपतङ्ग, सूक्ष्म जीवाणु आदि लोप भएमा बालीको परागसेचन एवं जैविक नियन्त्रण प्रक्रिया प्रभावित भई उत्पादन कम भई कृषि वृद्धिदर घट्ने र अन्ततः मानव खाद्य सुरक्षामा चुनौति थपिन सक्छ ।
आनुवांशिक श्रोत सम्बन्धी स्थानीय ज्ञान, सीप एवं प्रविधिको ह्रास भएमा कृषक समुदायको कृषि प्रणाली पराश्रित हुन जाने र खाद्य प्रणालीका लागि बिदेशी ज्ञान, सीप एवं प्रविधि भित्र्याउन विदेशीकै निगाहमा भर पर्नु पर्ने वा चर्को मुल्य तिर्नु पर्ने बाध्यता हुने जोखिम हुन्छ ।
यसैगरि वायु, जल र माटो प्रदुषण व्यवस्थापनमा प्रकृति प्रदत्त विविधताका विभिन्न पक्षहरुको योगदान रहने र विविधताको ह्रास भएमा वातावरणीय सन्तुलन बिग्रिन सक्ने भएकाले अन्तर्राष्ट्रिय रुपमा जैविक विविधताको पुनःस्थापना गर्न र खासगरि कृषि जैविक विविधताको संरक्षणका यो वर्ष २०२३ लाई कृषि जैविक विविधता वर्षका रुपमा मनाइँदैछ । यो क्रममा जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ ।
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरोमा संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धि पारित भएयता जैविक विविधताको संरक्षणमा बहस हुँदै आएको र सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको सहभागिताका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष मे २२ का दिन अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै आएको छ ।
नेपाल सरकारका कृषि विकास एजेन्सीहरुले रैथाने वालिहरुको जैविक विविधता जोगाउन, माटो र वीउको सुद्धता सरक्षणमा केही रैथाने र प्रागारिक मैत्रि वालि अभियान संचालन गरिरहेका छन् । सरकारी बजेट प्रयासले मात्रै विविधताको रक्षा हुन नसक्ने भएकाले नीतिगत प्रयास र व्यवहारको खाँचो देखिएको छ । यो सन्दर्भमा बसुधामा रहेका माटो , पानी , वायु, जीव र वनस्पति तथा सुक्ष्म जीव समेतको एकिकृत र सन्तुलित जीवनचक्रमा हामी सबैको जीवन र अस्तित्व सूरक्षित हरन्छ भन्ने मान्यताको बिस्तारमा यो दिवसको सकारात्मक योगदान रहने अपेक्षा गरिएको छ ।
यस्ता अभियानहरुले जीवीका र माटो , जीवीका र पानी , जीवीका र जंगल तथा जीवीका र संस्कृति जोड्न सकेमा बसुधैव कुटुम्बकम सार्थक हुने र जैविक विविधताको पुजीगत आयामसँगै कृषि क्षेत्रपनि समृद्धहुने सम्भावना जोगाउने छ ।