आरसी टाइम्स व्युरो
पोखरा, श्रावण ८
गण्डकी प्रदेशका कृषि तथा पशुसेवा प्रदायक एजेन्सी कार्यालयहरुले गत आर्थिक वर्षमा गरिएका लगानी र सेवा टेवाको विवरण सार्वजनिक गर्दै खर्च र उपलब्धीको समिक्षा थालेका छन् । गत आर्थिक वर्षको अन्तिम दिन देखि साउनको पहिलो सातामा विभिन्न कार्यालयहरुले गतवर्षका क्रियाकलाप र प्रगतिको अवस्था सार्वजनिक गरेका हुन् । पोखरामा प्रादेशिक कृषि निर्देशनालयले मालेपाटन, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले माटेपानी र कृषि ज्ञान केन्द्रले विरौटा स्थीत समिक्षालयमा सरोकारवालाहरुको उपस्थीतिमा सार्वजनिक सुनुवाई गरेका हुन । यसै क्रममा कृषि ज्ञान केन्द्र नवलपुरले पनि गतवर्षको खर्च र प्रगति ७० प्रतिशत नाघेको जनाएको छ भने नयाँ वर्षका लागि प्रस्तावित कार्यक्रमहरु नवलपुरमा सार्वजनिक गरेको छ। भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द मनाङ्गले मनाङ्गको चामेमा गतवर्षका क्रियाकलाप र प्रगतिको अवस्था सार्वजनिक गरेका छन् ।
कृषि विकास निर्देशनालयले वार्षिकरुपमा ८० प्रतिशत खर्च गर्न सकेको महानिर्देशक बासुदेव रेग्मीले जनाएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीले ८४ प्रतिशत खर्च प्रगति गरेको केन्द्र प्रमुख शम्भुराज पाण्डेले जनाएका छन् । यसैगरि कृषि ज्ञान केन्द्र कास्कीले ८६ प्रतिशत खर्च प्रगति गर्न सकेको केन्द्र प्रमुख शालिकराम अधिकारीले जनाएका छन् । कार्यालयहरुले तेस्रो पक्षको सहजिकरणमा सार्वजनिक सुनुवाइ गर्न नसकेको र तलवी खर्च र विकास खर्च एकै ठाउँमा राख्नाले खर्च गर्ने क्षमता र विकासमा लगानी प्रवाह गर्ने क्षमताको तुलना गर्न कठिनाइ भएको सरोकारवालाहरुले सुझाएका छन् । कृषि निर्देशनालयको सुनुवाइ प्रादेशिक कृषि सचिव सहदेव हुमागाईको अध्यक्षतामा भएको छ भने जिल्ला कार्यालयहरुको सुनुवाई सम्बन्धीत जिल्ला समन्वय समितिका प्रमुखको अगुवाइमा हुने प्रचलन छ ।