रामचन्द्र बराल
पोखरा, जेष्ठ २९
पोखराको शहरी उपभोक्ताहरुको अत्याधिक माग हुने टनेल घर भित्र खेति गरिएको रायोको सागमा विषादीको अधिक मात्रा फेला परेको छ ।
पोखराको कृषि उपज थोक बजारमा गत जेठ २७ गते विक्रिका लागि आएको तरकारीहरुको विषादी परीक्षणका लागि नमुना संकलनमा परेको पोखरा १४ चाउथेबाट तारा चौधरीले ल्याएको रायोको साग परिक्षण गर्दा उपभोग गर्न नहुने तहको विषादी पाइएको छ ।
कृषि विभागद्धारा पोखराको थोक कृषि बजारमा संचालनमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले दैनिक रुपमा विषादी अवशेष विश्लेषण नतिजा जारी गर्ने सम्बन्धमा किसान सेडमा विक्रीमा राखिएका सागको परीक्षण गर्दा कार्वामेट करिव ८५ प्रतिशत र अर्गानो फस्फेट ७३ प्रतिशत भन्दा बढी विषादी भेटिएको नतिजा प्रकाशन गरेको छ ।
कृषि बजारमा हरियो सागपातमा विषादीको मात्रा अत्याधिक भेटिएपछि कृषि बजार संचालक समितिको आकश्मीक बैठक बसेर किसानको खोजी र छान विन गर्न थालीएको बजारसंचालक समितिका अध्यक्ष नवराज दुवाडीले जनाएका छन् ।
उक्त तरकारी विक्रिका लागी ल्याउने तारा चौधरी कृषि बजारको किसान सेडका लागि कारोवार अनुमति पाएको सूचिकृत किसान नै नभएको पाइएको छ । उक्त दिनको बजार अनुगमन गर्ने र विषादी परिक्षणका लागि नमुना संकलन गर्ने क्रममा सुचिकृत किसान दशरथ खवासले ‘आफ्नो बारीको तरकारी’ भनेर बजार अनुगमनकर्ता सामु परिचय गराएको र प्रयोगशालामा नमुना दर्ता गर्ने क्रममा तारा चौधरीले आफनो तरकारी भनेर टिपाएको पाइएको छ ।
अत्याधिक हरियो र फ्रेश देखिएको रायो उच्च मुल्य सहित विहानै कारोबार भइसकेको र नौ बजे विषादी अवशेष भेटिएको नतिजा आएपछि भान्छामा पुगेर भोजनका लागि तयार भइसकेको सागमा कैफीयत पाइएपछि बजार संचालक समितिले यसबारेमा चासो राखेर किसान पहिचान र तरकारी बारी अनुगमन गर्ने तयारी गरेको अध्यक्ष दुवाडीले जनाए ।
अनुगमनका क्रममा कृषि बजार संचालक समितिसँगै कृषि ज्ञान केन्द्र कास्कीका प्रतिनिधि, महानगर वडा १४ का प्रतिनिधिको रोहवरमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बाग्लुङ्ग बुर्तिबाङ्गकी यमुना रानाको फार्मबाट संकलन गरिएको सागलाई तारा चौधरीले ल्याएर बजारमा सुचिकृत किसान दशरथ खवासको नामबाट बजार प्रवेश गराएर बिक्री गरेको पाइयो । अनुगमन समितिले पटक पटक फोन गर्दा पनि सम्पर्कमा नआएपछि अनुगमन टोली पोखरा चाउथेका तरकारी फार्म चाहर्दै जाँदा दशरथ खवासलाई भेटाएपछि उनलाई लिएर तारा चौधरी खोज्न जाँदा उनि सम्पर्कमा आउन नचाहेर लुकेको र उनले साग संकलन गरेको बारी यमुना रानाले संचालन गरेको पाइएको छ ।
अनुगमन टोली फार्म निरिक्षण गर्दा विषादीको बोतल र विषादी छरेको भाडो समेत फार्म परिसरमा भेटाएको छ । फार्ममा ‘जी सुनामी’ नामक विषादीको बोतल भेटिएको छ । उक्त विषादीका बारेमा वालिसंरक्षण विशेषज्ञ मनोहर कडरीयासँग सम्पर्क गरि सोद्धा उक्त विषादीमा क्लोरोपाइरिफोस र साइपरमेथ्रिन नामक तत्व मिश्रण रहेको पाइएको छ । क्लोरोपाइरिफोस विषादी प्रयोग गरेको २८ देखि ३५ दिन उपयोग जोखिम रहने र साइपरमेथ्रिन ७ दिन सम्म प्रयोग निषेध गर्नु पर्ने विषादी रहेको कडरीयाले जनाएका छन् ।
तरकारीमा घातक विषादी हालेर बजार पठाउने यमुना राना, विषादीयुक्त तरकारी विक्रिका लागि किसानका लागि तोकिएको सेडमा अनुमति विना नै कारोबार गर्ने तारा चौधरी र सूचीकृत नभएका किसानको तरकारी ‘मेरै हो’ भनेर बजारमा प्रबेश गराउने सुचीकृत किसान दशरथ खवास तीन जनालाई नै अपराध अनुसारको नसिहत दिनु पर्ने बजार संचालक समितिका सदस्यहरुले माग गरेका छन् ।
किसानका नाममा नक्कली किसानले गरेको विषादीयुक्त खेति र जोखीमी अवधीमा बजारमा ल्याएर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेकाले उपभोक्ता हित संरक्षण ऐन बमोजिम कार्यबाही हुनु पर्ने माग राखिएको छ । सहरमा उपभोक्ताको आकर्षणमा पारेर छिटै नगद आर्जनको लोभ गर्ने किसानहरुले घातक विषादी प्रयोग गरिएको तरकारी ल्याएर असल कृषि अभ्यास गर्न प्रयास गर्ने किसानहरु समेतलाई शंकाको घेरामा पारेको छ ।