नमुना किसान : पदम तामाङ्ग
कास्की जिल्लाका विभिन्न उद्यमशील किसानहरूको समूहमा पदमबहादुर तामाङको नाम अग्रणीमा आएको छ । हालै गण्डकी प्रदेशको कृषि सरकारले प्रादेशिक किसानहरूको सम्मान गर्ने क्रममा पहिलो दर्जामा आएका पदमबहादुर तामाङ माछापुछ्रे गाउँपालिकाको वडा नम्बर ९ क्षेत्रमा कृषि उद्यम चलाइरहेका छन् ।
४६ वर्षीय युवा पदमबहादुर वैदेशिक रोजगारको क्रममा १५ वर्ष अगाडि साउदी अरब पुगेका थिए ।
नेपाल फर्केर २०७५ सालदेखि एक टनेलबाट तरकारी खेति सुरु गर्दै ५० रोपनी क्षेत्रमा तरकारी खेती गर्दै आइरहेका छन ।
हाल उनले २५ रोपनी क्षेत्रफलमा अलैची खेती गर्दै आइरहेका छन् भने ४१ वटा प्लास्टिक टनेल मा गोलभेडा ,साग,खुर्सानी, घिरौला, करेला, क्याप्सिकम उत्पादन गर्दै आएका छन् ।
आफ्नो कृषि इलमबाट पदमबहादुरले वार्षिक ५०लाखको कारोबार गरेको र खर्च कटाएर वार्षिक २५ लाख आम्दानी गरेको बताएका छन्।
उनले तरकारी खेती गर्दा मल्चिङ प्रविधिको प्रयोग, जैविक प्राङ्गारिक मलको प्रयोग र आधुनिक यन्त्र उपकरणहरूको प्रयोगबाट श्रमशक्ति कम लगाएर बढीभन्दा बढी कृषि उत्पादन लिने प्रयत्न गरेको देखाएका छन् ।
हालै मात्र कास्कीका उत्कृष्ट कृषकका रूपमा पहिचान बनाएका पदमबहादुर प्रादेशिक रुपमा नै नमुना किसानका रुपमा परिचित भएका छन् ।
उनको उद्यमशीलताबाट स्वदेश मा नै बजारमुखी उत्पादन गरेर स्वदेशी आत्मनिर्भरता र स्थानीय बजार उन्मुख आम्दानी गरी आर्थिक समृद्धिका लागि नमुना उद्यमी बन बन्न सकिने लक्षण देखाएका छन् ।