महेन्द्र जिसी/आरसी टाइम्स
पर्वत, माघ २१
कृषि योग्य खेतबारीको स्वस्थता कायम गर्न र असल कृषि अभ्यासलाई बढवा दिन स्थानीय सरकारले रैथाने गाइको मल र गहुँत विक्रीमा सहजीकरण गर्ने भएको छ । पर्वतको जलजला गाउँपालिका–७, धाईरिङको गोकुल धाममा सञ्चालित गण्डकी गोपाल गौशालाबाट उत्पादन भएको मल र गहुँत प्याकेजिङ विक्रिको तयारीमा गाउँ पालिका रहेको पालिकाका अध्यक्ष राजु प्रसाद आचर्यले बताएका छन् । गौशालामा पालिएका गाईको मलमूत्र लाई कृषि तथा खाद्यान्न बालीमा प्रयोग गर्न मलसँगै वन जङ्गलको पातपतिङ्गरलाई समेत सङ्कलन गरी अग्र्यानिक मल बनाइने र गाउँपालिकामार्फत प्याकेजिङ गरेर सहुलियतदरमा बिक्री गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताएका छन् । हालै गौशालाका लागि दान दिन सहभागी समुदायलाई सम्बोधन गर्दै आचार्यले उक्त जानकारी गराएका हुन् ।
गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरूबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म विभिन्न व्यक्तिहरूले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृ उद्धार तथा विशेष दिनको अवसर पारेर स्वैच्छिक रूपमा गाई पालनका लागि पराल, दानालगायत जिन्सी सामानहरू दानसहयोग गरेका हुन् । पर्वत मिलन चोककी स्थानीय अगुवा तथा सामाजिक अभियन्ता जमुना आचार्यले विभिन्न व्याक्तिहरुले गौशालामा पालिएका गाई र बाच्छाबाच्छीका लागि सङ्कलित पाँचलाख बढीको नगद तथा जिन्सीलगायत सहयोगका विवरणहरू सार्वजनिक गरेकी हुन् ।
गौशालाको लागि पर्वतको पाङ, खुर्कोट, नाग्लीबाङ, फलेबास, लेखफाँट, सालिजा, धाईरिङ, खोलाखेतलगायत स्थानबाट नुन र पराल सहयोग भएको थियो । स्वदेश तथा विदेशमा रहेका करिब २ सय जना सहयोगदाताहरूबाट आर्थिक तथा जिन्सी सहयोग भएकोमा जिन्सी र नगदबाट कुल १७ सय ५१ भारी पराल सङ्कलन गरिएको अभियन्ता आचार्यले बताएकी छन् । सालिजा र फलेबासमा टोल विकास संस्थाको सक्रियतामा पराल सङ्कलन गरिएको थियो । कार्यक्रममा झन्डै दुई सय जना व्यक्तिहरूले गरेको नगदसहित जिन्सी दाना पराल सहयोग गरेको जनाईएको छ ।
उक्त कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले यस वर्ष गौशालामा आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । गौशालाकै लागि यसै वर्ष सङ्घीय सरकारबाट पनि एक करोड ४५ लाख रुपैयाँ बजेट परेको बताए । वि.सं. २०७२ सालमा स्थापना गरिएको गण्डकी गोपाल गौशालामा हाल माउ गाई, बहर तथा बाच्छी गरेर कुल ५८ वटा रहेका छन् । परम्परागत रूपमा पालिँदै आएका रैथाने जातका गाईको संरक्षण गर्ने उद्देश्यसहित गौशालाको अवधारणा ल्याएर गाई पालन गरिएको हो । समाजमा हुने विभिन्न धार्मिक कार्यहरूमा गाईको दूध,दही घ्यु, गोबर तथा गहुँतको उपयोगीता र धार्मीक महत्व जनाउन पनि गौशाला सञ्चालन गरीएको जनाइएको छ ।