रामचन्द्र बराल/आरसी टाइम्स
मुस्ताङ्गबाट फर्केर, फाल्गुण १९
गण्डकी प्रदेशका हिमाली चरन खर्कहरुमा विषाक्त घाँसहरु देखिन थाले पछि पशुपालन गर्दै आएका किसानहरु चिन्तीत हुन थालेका छन् । हिमाली जीवनको पोषणको आधार नै हिउँ भएको र हिउँ पर्ने प्रणाली परिवर्तन हुनाले हिमालयमा नयाँ प्रजातीका वनस्पति देखा परेको स्थानीयबासीहरुले जनाएका छन् । हिउँ प्रणालीमा आएको परिवर्तनका कारण प्रकट भएका वनस्पतिहरुमा कतिपय विषाक्त चरित्रका भएकाले चरन खर्कमा खुल्ला चराइने पशुधनहरुमा भोजन उप्रान्तकाका प्रतिकृयात्मक समस्याले गर्दा पशुहरुमा नकारात्मक प्रतिकृया हुने गरेको झोङ्ग चरन खर्क मुक्तिक्षेत्रका च्याङ्गरा पालक किसान छेवाङ्ग रिन्जीन गुरुङ्गले जनाएका छन् । यस्ता नयाँ प्रजातीका घाँसहरुबारे गोठालाहरुलाई हत्पत्त जानकारी नहुँने र याक नाकमा देखिएका नयाँ समस्याबारेमा पशु स्वस्थ्य कर्मीलाई रिपोर्टीङ्ग गरिसकेपछि आहारमा विषाक्त घास परेको पत्ता लाग्ने र खर्कमा भएका नया घाँसहरुको पहिचानका बारेमा शंका र चासो बढने गरेको धौलागीरी हिमालको सेकोङ्ग चरन क्षेत्रका याक पालक किसान तथा याक नेटवर्क नेपालका महासचिव सोजन हिराचनले बताए ।
धौलागीरी हिमालकाँखमा चारबटा चरन खर्कमा २३ वटा चौरीगोठ व्यवस्थापन गर्दै आएका किसानहरुले पुर्णखोप अभियानले चौपाया पशुधनको रोग नियन्त्रणमा टेवा पुगेको भएपनि नया प्रजातीका विषाक्त घासहरुले चरन खर्कमा पशुस्वास्थ्यको नयाँ चुनौति थपेको हिराचनले बताए । यो कारणले गर्दा नौलो गोठालाका भरमा याक नाक र चौरी बथान छोड्न नसकिएको तथा पुराना गोठालाहरु टिकाउन नसक्ने स्थीतिले पशुपालनमा नयाँ चुनौति थपिएको उनले बताए ।
गोठालाहरुले विषाक्त घाँस भएको क्षेत्र पहिचान गरेर चौरी तथा च्याङ्गरा लैजान रोक्न नसकिने र पोषीलो घाँस सँगै आएको नयाँ प्रजातीको विषाक्त घाँस खाएर पशुधन विमारी पर्ने चुनौति थपिएको किसानको गुनासो छ । खासगरि नयाँ प्रजातीका विषाक्त घास खाएपछि पशुहरुमा विभिन्न प्रतिकृया आएको किसान र पशु स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
जलवायु परिवर्तनको कारण हिमालय पारी हिउँ कम पर्ने र वर्षा बढन थालेको अवस्थाासँगै नयाँ प्रजातिका विषाक्त घाँसले चरन खकृमा आधारित पशुपालन प्रणालीमा जोखिम बढाएको किसानरुको तर्क छ । गत वर्ष भेटेरीनरी कार्यालयले विषाक्त घाँस उखेल्ने अभियान समेत चलाएको र केहि सन्तोष भएको बताउँदै किसान छेवाङ्गले स्थानीय गाउँ सरकार वा प्रदेश सरकाले विषाक्त घाँस नियन्त्रणमा लगानी गर्नु जरुरी देखिएको बताएका छन् ।
जलबायु परिवर्तको कारण समयमा हिउँ तथा पानी नपर्दा मुस्ताङ जिल्लाका विभिन्न चरन खर्कमा विषालु घाँसहरु फैलिरहेको हुदाँ याक र नाक भेडा र च्याङग्राहरुमा त्यसको असर व्यापक रुपमा देखिदै आएको छ ।
चरन खर्कमा विषालु घाँस खानाले छेर्ने, झोक्रिने, शरिर सुन्निने, मुखबाट फिज आउने, पेट फुल्ने र छट्पटाउने, अनावश्यक कराउने, गर्भवती पशुले वच्चा फाल्ने, समयमा वालि नजाने र समयमा नै उपचार गर्ने मौका नपाए मर्ने अवस्था आउने गरेको भेटेरीनरी कार्यालय मुस्ताङ्गका प्रमुख लालमणी अर्यालले जनाएका छन् ।

पशुचिकित्सक अर्यालका अनुसार चरन खर्कहरुमा देखिएका विषाक्त घाँसहरुमा साईधोक र कुकरविष नामक झारहरु रहेका छन । स्थानिय भाषामा साइधोक भनिने विषाक्त झार वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको वडा नं २ झोङ लेकमा देखिएको छ भने कुकरविष नाम विषाक्त झार थासाङ गाउपालिकाको नुप्साङ खर्कमा देखिएको अर्यालले जनाएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, केन्द्र मुस्ताङले समुदाय स्तरमा च्याङग्रा विकास कार्यक्रम अन्तरगत दोधाङ कृषक समुह बारागुङ मुक्तिक्षेत्रको सहकार्यमा झोङको लेकमा गत आर्थिक वर्ष २०८०/०८१मा करिव २०० जना व्यक्तिहरु द्धारा साइधोक नामक विषालु घाँस हटाउने कार्य गरेको जनाएको छ । पशु सेवा विज्ञ केन्द्रले उक्त प्रजातीको घाँस उत्पादनले के कस्तो असर गरेको छ भन्ने बारेको अध्ययन आगामी आर्थिक वर्षमा गर्ने सकिने जनाएको छ । हिन्दकुश हिमालयमा एकिकृत पर्वतीय विकास कार्यक्रम संचालन गर्दै आइरहेको इसिमोड नामक संस्थाले गरेको एक छलफलमा किसानहरुले जलवायु परिवर्तनको चापले चरन क्षेत्रको आकार घटदै गएको , मिचाहा र विषाक्त झारको उपस्थीति बढन थालेको, सुख्खायाममा लेकाली चरन क्षेत्रमा पिउने पानीको संकट थपिएकाले प्रादेशिक र स्थानीय सरकारले समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् ।