कुलराज चालिसे,
नवलपुर, २६,फाल्गुण
कृषिमा नविनता, उत्पादनमा वृद्धि, स्वावलम्वी जीवनशैली, स्वरोजगार र सम्वृद्धिको दुरदृष्टि सहित मध्यविन्दुबाट कृषिमा ब्राण्ड स्थापना गर्ने उद्देश्यले मध्यविन्दु नगरपालिकाको पहलमा नवलपुरका पालिकाहरूको सहभागीता सहित मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ हालै सम्पन्न भएको छ । फाल्गुण २२ देखि २४ सम्म चलेको उक्त महोत्सवमा कृषि उपकरणका स्टलहरू सर्वाधिक आकर्षणमा रहेका थिए । कृषि अनुसन्धान परिषदका स्टलहरूले नवीन प्रविधिको जानकारी गराएका थिए भने कृषक समूह तथा सहकारीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरे ।
विद्यालयका विद्यार्थीहरूको समेत सकृय सहभागीता रहेको उक्त अवसरमा पशु चौपायाहरूको पनि प्रदर्शन गरीएको थियो । समुहगत प्रतिनिधित्व सहित परम्परागत खाद्यका स्टलहरू थियो । श्री अरविन्दो योग नगरमा उत्पादित प्राङ्गारिक उत्पादन देखि विद्यार्थीहरूले आँफैले तयार गरेको परम्परागत पकवान्नले गर्दा महोत्सवले कृषि जैविक विविधताको उत्कृष्ट प्रदर्शन गरेको थियो । विद्यार्र्थी, कृषक, अनुसन्धान केन्द्र र शिक्षण संस्थाहरूको मिश्रण गराउन कृषि ज्ञान केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो भने नवलपुरका सवै पालिकाहरूले मध्यविन्दु नगरपालिकासंग सहकार्य गरेर कृषि विकासमा एकीकृत पहलको महत्वलाई राम्ररी प्रदर्शन गरेका थिए । महोत्सवकै दौरान कृषि विश्वविद्यालय, अनुसन्धान परिषद र कृषि विभागका प्राविधिकहरूसंग कृषकहरूको साक्षात्कार सम्बाद गराइएको थियो । मध्यविन्दुमा यस प्रकृतिको महोत्सव पहिलो पटक हो । यो अन्तिम होईन , अब हरेक वर्ष हुनसक्छ , परिमार्जित र परिस्कृत स्वरूपमा ।
रैथाने खाना महोत्सवको उपादेयता
नेपालले उन्नत मानिएका कृषि प्रविधिको योजनावद्ध कार्यान्वयन गर्ने प्रयास गरेको पनि सत्तरीवर्ष नाघेको छ । कृषि शिक्षा, अनुसन्धान, प्रसार तथा अनुदानमा प्रयाप्त खर्च गर्दा पनि आसातित उपलब्धी त भएन भएन, उल्टै अनेक प्रकारका रोग उत्पन्न हुनाको साथै अनिकालमा समेत जोगाउनु पर्ने वीउ र पुस्तौली अभ्यासको बलमा आर्जित परम्परागत प्रविधि लोपोन्मुख अवस्थामा पुगे । उन्नत मानिएका प्रविधि पनि युवा कृषकहरूको प्राथमिकतामा पर्न नसकेर युवाहरू कृषिबाट पलायन हुँदै गए । जलवायुमा देखिदै गएको अनपेक्षित परिवर्तनले यो समस्यालाई झनझन बढाइदियो । मलवीउ, सिचाई, उपकरणमा दिने अनुदान, कृषि विकासको साङ्गठनिक संरचनामा हुने लगानी, कृषकको श्रम लगानी, जोखिम व्यवस्थापन खर्च जोडदा हाम्रो उत्पादन लागत प्रतिस्पर्धि देशको भन्दा धेरै उकालो चढेको अवस्थामा न्यून लगानीका रैथाने अन्नवंश तथा प्रविधिलाई बचाइराख्न आवस्यकता महसुस भएर कृषि जैविक विविधता संरक्षण गर्ने उद्देश्यले वजेटमा समेत समावेस गरीयो । त्यसको निमित्त रैथाने खाना महोत्सवको आयोजना गर्नु अत्यन्त आवस्यक हुन्थ्यो । त्यो पहल मध्यविन्दुमा दिप प्रज्वलन गरेर प्रारम्भ भएको छ ।
धेरै हदमा प्रथम प्रयास अपूर्ण हुन्छ नै । यो महोत्सव पनि पूर्ण थिएन । अभ्यास गर्दै जादा अनुभवको आधारमा पूर्णता प्राप्त गर्दै जाने हो । कृषि शिक्षाको पाठ्यक्रममा नपरेको तथा अनुसन्धानको दायरामा पनि समेटन नसकीएको विषयलाई कार्यान्वयन गर्न सजिलो हुदैन । यो महोत्सवले पनि त्यो समस्यालाई भोगेको देखीयो । कृषि तथा वन विश्वविद्यालयका डिन, कृषि विभागका उपमहानिर्देशक, कृषि अनुसन्धान परिषदका वरिष्ट वैज्ञानिकको रोहवरमा यो समस्याको उठान भएको छ । आगामी वर्षहरूमा रैथाने कृषि प्रविधि र अन्नवंश सुरक्षाको क्षेत्रमा संगठित अनुसन्धान भएर कृषि प्रसारको ठिक दिशामा प्रवाह हुँदै जाने विश्वास गर्न सकिन्छ ।
क्रमिक सुधारको सम्भावना
यो महोत्सवमा नवलपुरका पालिकाहरूले आ—आफ्ना स्टलहरूबाट रैथाने कृषिका सूचना प्रवाह हुन सकेको थिएन । तर उनिहरूले समेत आँफुले रैथाने कृषि संरक्षण शिर्षकमा विनियोजन गरेको वजेटबाट मध्यविन्दु नगरपालिकासंग सहकार्य गरेका छन् । उनिहरूले पनि मध्यविन्दुको महोत्सवलाई अवलोकन गरेर आँफुले स्टल नराखेकोमा पछुतो महसुस गरेका हुनसक्छन् । आगामी महोत्सवहरूमा उनिहरूले यो मौकामा हिरा फोर्न सक्रिय हुने अनुमान गर्न सकिन्छ । नेपालकै मध्यविन्दु भएकोले यो महोत्सवको प्रभाव नवलपरासीमा सिमित नभएर मेची महाकालीसम्म विस्तार हुन्छ । अबका महोत्सवहरू रैथाने खाना प्रदर्शनमा मात्र सिमित हुँदैनन् । विश्वविद्यालयको पाठ्यक्रम र कृषि अनुसन्धान परिषदको अनुसन्धानमा समेत रैथाने कृषि प्रविधि प्रवेश गर्ने निश्चित प्रायः छ । अवको अनुसन्धान उत्पादनमा सिमित नभएर खाद्य प्रशोधनमा पनि प्रवेश गर्नेछ ।
रैथाने कृषिको व्यापारिक सम्भावना
रैथाने कृषिको परिमाणात्मक उत्पादकत्व कम हुँदा पनि प्रिमियम मूल्यलाभको जगमा मूनाफामा पनि जान सक्छ । त्यसको निमित्त ब्राण्ड योजनाको जगमा व्यावशायिक हुन जरुरी छ । अहिलेसम्म कृषि प्राविधिक र जैविक विविधता संरक्षणकर्र्मीमा सिमित रैथाने कृषि आगामी महोत्सवहरूमा कृषि समाजशास्त्री र वजार व्यवस्थापनका विज्ञहरूको आकर्षणमा पर्नेछन् । यो महोत्सवमा अनुपस्थित खाद्य प्रशोधन उद्यमी र बजार विचौलीयाहरूको प्रवेश आगामी महोत्सवहरूमा हुनेछ ।
वित्तीयक्षेत्रको प्रवेश सम्भावना
यो महोत्सवमा मुक्तिनाथ विकास वैंकको भगिनी संस्था मुक्तिनाथ कृषि र बिकु सहकारीको आंशिक सहभागीता वाहेक अन्य वित्तीय संस्थाहरूको उपस्थिति थिएन । लघुवित्त सेवा प्रदायक सस्थाहरूले मात्र नभइ उत्पादन क्षेत्रमा लगानी गर्न नसकेका क वर्गका वित्तीय संस्थाहरूले समेत आगामी महोत्सवहरूमा सकृय सहभागीतामा जान सक्छन् ।
रणनीतिक ब्राण्ड योजना
मध्यविन्दु नगरपालिका पूर्वपश्चिम राजमार्गको मध्यविन्दु मात्र होईन । यो भारतीय पर्यटकहरूले मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्न जाने मार्ग पनि हो । भारतीय पर्यटकहरूले आफ्नै रुचिको खाना आफैले बनाउन रुचाउछन् । धेरै सामाग्री उनिहरू आँफैले ल्याएपनि हरियो सागसब्जि र दुग्धजन्य पदार्थ यहीको बजारबाट किन्न पर्छ । मध्यविन्दुले आफ्ना उत्पादनलाई गुणस्तरीय भनी विश्वास दिलाउन सकेमा नेपालको प्रसाद भनेर तिनैले खरिद गरेर पनि लान सक्छन् । स्नान र शौचको राम्रो व्यवस्था सहित खुल्ला चौरमा गाडी विसाएर खाना बनाउने सुविधा पाएभने नेपालको उत्पादनको प्रचारक तिनै तीर्थयात्रीहरू बन्न सक्छन् । तीर्थयात्रीबाट संरचना उपयोग गरे बापत शुल्क लिने अधिकार नगरपालिका संग सुरक्षित रहन्छ । निशुल्क सेवा दिनु पर्दैन ।
अन्यत्रका पर्यटक एक पटकका हुँदा उनिहरू पटक पटकका हुन सक्छन् । फर्किने वेलाका तीर्थयात्रीले जौ, तिल, पानी, दुग्धजन्य मिठाई आदि प्रशादी लगे पनि हामीले व्यापार सन्तुलनमा ठूलो योगदान दिन सक्छौ । आगामी महोत्सवहरू रैथाने खानाबाट रैथाने अन्न तथा गोरसमा उक्लिन सक्छ । शिक्षामा नवप्रवर्तन गर्न सकेको मध्यविन्दु नगरपालिकाले कृषि ब्राण्ड योजनामा समेत महत्त्वपूर्ण योगदान दिन सक्छ । यो महोत्सवले त्यो सम्भावनाको ढोका पनि उघारी दिएको छ ।
तस्वीरहरु सौजन्य : प्रकाश रेग्मी, मिसन नवलपुर