आरसी टाइम्स व्युरो
पोखरा, मंसीर २९
पछिल्ला दिनमा बजारमुखी स्वस्थकर कृषि उत्पादनको खोजिको मात्रा बढीरहेका बेला बायो डाइनामिक कृषि प्रविधि तर्फ चासो बढीरहेको छ भने कफी खेतिमा पनि बायो डाइनामिक प्रविधिको उपयोगका बारेमा सहजिकरण हुन थालेका छन् । हालै चिया तथा कफि विकास बोर्डको क्षेत्रिय कार्यालय पोखरामा कफी किसानहरुलाई बायो—डाइनामिक प्रविधिका बारेमा अभिमुखीकरण गरिएको जनाइएको छ ।
रासायनिक मल र विषादीको प्रयोग घटाउँदै माटोको जैविक उर्वराशक्ति, जैविक विविधता र प्राकृतिक चक्रलाई सुदृढ बनाउने उद्देश्यले विकसित गरिएको बायोडाइनामिक कृषि प्रविधि हाल स्वस्थ खाद्य उत्पादन र वातावरणमैत्री खेती प्रणालीका रूपमा चिनिन थालेको छ । कफी खेतीमा यस प्रविधिको प्रयोगले उत्पादनको गुणस्तर वृद्धि हुनुका साथै बजारमा मूल्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
कृषकहरूलाई माटो व्यवस्थापन, जैविक कम्पोस्ट, वनस्पति र खनिजबाट तयार गरिने बायोडाइनामिक तयारीहरू तथा चन्द्रमास र प्राकृतिक चक्रअनुसार गरिने कृषि अभ्यासबारे जानकारी गराउँदै सहजिकरण कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् । यस्ता अभ्यासहरूले कफी खेतीलाई दिगो, पर्यावरणमैत्री र आर्थिक रूपमा लाभदायक बनाउने विश्वास लिइएको छ ।
विशेषगरी निर्यातमुखी कफी उत्पादनमा अन्तर्राष्ट्रिय बजारले जैविक र बायोडाइनामिक प्रमाणीकरणलाई प्राथमिकता दिन थालेको वर्तमान अवस्थामा नेपालका कफी कृषकहरूका लागि पनि यो प्रविधि दीर्घकालीन अवसरका रूपमा देखिन थालेको छ ।
चिया तथा कफी विकास बोर्डले गत वर्षपनि यसबारेमा कार्यशाला संचालन गरेको तथा यतिबेला त्यसैको निरन्तरता र सिकाई विस्तारको पहल गरिएको बोर्डका क्षेत्रिय कार्यलय प्रमुख चन्द्र पूरीले जनाएका छन् ।
तनहुँ दुले गौडाका महेन्द्र कुमार श्रेष्ठ लगायतले तालिमको क्रममा विभिन्न विधिको प्रयोग गर्न सिकाउने, जैविक मल , औषधी बनाउने, सेतो गवारो नियन्त्रणका लागि गाइको गोवको पेस्ट बनाएर लगाउने, माटोमा रहेका सुक्ष्म जीवको मात्रा बढाउन सहयोग पुर्याउन सहजिकरण गरिएको चिया—कफी प्राविधिक नगेन्द्र सुवेदीले जनाएका छन् । बायो—डाइनामिक प्रविधिले विरुवाको रोगप्रतिरोधात्मक क्षमता (इमयुनीटि) बढाउने षमता राख्ने प्रविधिका रुपमा चिनिएको अस्ट्रेलियाबाट आएका पीटर क्रेल्भीले आफ्नो ३० वर्षदेखिको अनुभव पनि सुनाएका थिए ।
कसैलाई पनि हानी नपुर्याइकन पर्यावरणीय मित्रुजीवहरुमा हार्मोनीपूर्ण सम्बन्ध निर्माण गर्ने प्रयासका लागि बायोडाइनामिक प्रविधि परिचित मानिएको र कफी खेतिमा बायोडाइनामिक प्रविधि प्रयोग प्रमाणित भएका विश्वबजारमा अर्गानिक उत्पादन भन्दा पनि उपल्लो तहको बजार मुल्य पाउने सम्भावना रहेको पनि बताइएको छ । तालिममा कास्की,स्याङ्गजा, गोर्खा, लमजुङ्ग, काठमाण्डौंबाट आएका ५० जना सहभागी रहेको जनाइएको छ ।

