आरसी टाइम्स व्युरो
पोखरा,मार्ग २९
स्थानीय किसानहरुको जैविक विषादी तथा कम्पोष्ट मल सहितको ट्राइकोडर्मां प्रविधि उपयोगका लागि किसानलाई सहजिकरण गर्दै आएको प्रेरणा परियोजनाको पहलका बारेमा हालै सरोकारवालाहरुले अनुमगन गरेका छन् ।
ली–बर्ड नामक गैससले विभिन्न अन्तराष्ट्रिय दार्त निकायको सहयोगमा संचालन गरेको प्रेरणा परियोजना अन्तर्गत स्थापितसामुदायिक पहलमा ट्राइको गँड्यौली मल उद्यमहरुको स्थलगत अनुगमन गरिएको हो ।
परियोजनाका स्थानीय साझेदारहरु पोखरा महानगरपालिका–१८, अँधेरीकुनाका ठोट्नेखोला सामुदायिक वन उपभोक्ता र सहकारीको सहकार्यको उद्यम र माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रतिभा मसहला उद्यम सहकारीले संचालन गरेको उद्यमको स्थलगत अनुगमन गरिएको छ । अनुगमन सरोकावालाहरुमा प्रदेश कृषि मन्त्रालयका सचिव, कृषि विकास निर्देशनालयका महानिर्देशक, कृषि विकास कार्यालय प्रमुख, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका वैज्ञानिक, प्रदेश कृषि प्रयोगशाला गण्डकीका प्रमुख ,ली–बर्डका कार्यकारी बोर्डका सचिव समेतका प्रतिनिधिहरु सहभागी थिए ।

स्थलगत कार्यस्थल गोष्ठि (ट्राभल सेमिनार) क्रममा ट्राइको गँड्यौली मल उद्यमहरुको दिगो र गैरसरकारी तहबाट कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने विषयमा परियोजना संयोजक अनुपम उप्रेतीले गतिविधिका चरणहरु प्रस्तुत गर्दै छलफल चलाएका थिए । छलफलका क्रममा अधेरी कुनाका प्रशान्त श्रेष्ठ, विष्णुमाया कुमाल, सिता सुवेदी, लोकबहादुर थापा र लाहाचोकका बासुदेव ढकाल, शारदा दाहाल अधिकारी र गोमा अधिकारीले आफ्ना समुदायका क्रियाकलाप र उपलब्धीका बारेमा प्रस्तुति गरेका थिए ।
किसानहरुले गोबरको मुल्य वृद्धि गर्ने उपाय, वनको स्याउनलार झार पातबाट कम्पोष्ट मलका रुपान्तरण गरेर आयआर्जनका उपायले सकारात्मक इलम देखाएको तर गहुँत संकलन र वजारिकरणबाट युरीयाजन्य मलको विकल्प बनाउन अझै बाँकी रहेको पाइएको छ ।

