आरसी टाइम्स व्युरो
गोरखा, फाल्गुण 25
हरेक शहरी भान्सामा प्रायः खोजिने कागती विदेशी बजारबाट आउने र नेपाली मुल्य विदेशिने अवस्था अन्त्य गर्न राजमार्गसँग जोडिएका भित्री बस्तीहरूमा कागती खेती विस्तार हुन थालेको छ । गोरखाको पालुङ्टार वडा नं ९ मा स्थानीय किसानहरूले करिब ३ हजार कागतीका बिरुवा रोपेर निरन्तर आय आर्जनको तयारी गरेका छन् ।
कृषि विकास कार्यालय गोरखाका प्राविधिकहरूले स्थलगत अनुगमन गर्दै किसानहरुलाई स्थानगत परामर्श र बगेचा गोडमेल गर्न सहजिकरण गरिरहेका छन् । प्राविधिकहरुले नयाँ विरुवा रोपणभन्दा बगैंचा व्यवस्थापनमा जोड दिँदै काँटछाँटमा चोर हाँगा मुठार्न वा हटाउन सुझाएका छन् । मौसमी पात्रो अनुसार बगैचामा बोर्डाे मिश्रण र पेस्ट प्रयोग गर्न, सन्तुलित मल तथा पानी व्यवस्थापन गर्न सुझाव दिएका छन् । यसले बिरुवाको स्वास्थ्य, उत्पादन र दीर्घायु सुनिश्चित हुने कृषि विकास कार्यलय गोरखाका प्रमुख कुलप्रसाद तिवारीले बताएका छन् ।
पालुङ्टार क्षेत्रमा कागती खेतीको विस्तार राम्रो भएको र किसानहरू उत्साहित भएको तिवारीले बताए । बाँझो जमिन उपयोग गरी व्यावसायिक बागवानीतर्फ उन्मुख यो प्रयासले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय कालिका महिला किसान क्लब र लालीगुराँस क्लबले सयौं रोपनीमा सुनकागती रोपे पनि काँटछाँट, मलखाद र रोग नियन्त्रणमा कमजोरी देखिएको छ ।
कृषि प्राविधिक तिवारीका अनुसार नियमित काँटछाँटले हावा प्रवाह र फल उत्पादन बढाउँछ भने काँटछाँटपछि बोर्डो मिश्रण (ताँबा सल्फेट र चूनाको मिश्रण) र बोर्डोे पेस्टले रोग नियन्त्रण गर्छ । सन्तुलित मल, मल्चिङ र सिँचाइ व्यवस्थापनले बिरुवाको दीर्घायु सुनिश्चित हुने प्राविधिकहरुले सुझाएका छन् ।
पालुङ्टार—८ झाँक्राकी उजेली आले जस्ता किसानहरूले बाँझो खेतमा कागती रोपेर नयाँ आशा पाएका छन् तर तालिमको अभावले चुनौती थपिएको छ ।
व्यवस्थापन सुधारिए आगामी ३—४ वर्षमै व्यावसायिक उत्पादन र बजार पहुँच सम्भव देखिएको छ ।
उजेली आलेले दुई वर्ष बाँझो बसेको खेतमा कागती रोपेकी हुन् ।
पहिले धान—मकैले राम्रो नदिएपछि सुनकागती १ जातका सय बिरुवा लगाएकी हुन । तीन वर्षपछि फल आउने उनको आशा छ । यस्तै गरि कालिका महिला किसान क्लबकी कोषाध्यक्ष सुनिता थापाले क्लबमार्फत १ सय रोपनीमा १८ सय बिरुवा रोपेर २२ घरधुरीले बाँझो जमिन उपयोग गरेका छन् ।
त्यसैगरि लालीगुराँस किसान क्लबका सचिव देवनिधि पाण्डेले ३० रोपनीमा ५ सय बिरुवा रोपेका छन् ।
यता पाण्डेवेशीका राजकुमार तामाङले दश वर्ष साउदी मा काम गरेर फर्केपछि नर्सरी सञ्चालन गर्दै कागती बिरुवा उत्पादन गर्न थालेका छन् ।
यी किसानहरू बाँझो जमिन, बाह्रमासे फल र बाँदरजन्य हानिबाट सुरक्षित कागतीप्रति आकर्षित छन् , तर व्यवस्थापन तालिमको कमीले चुनौती थपिएको छ ।

पालुङ्टारका कागती किसानहरूको उत्पादन मुख्यतः स्थानीय बजार र नजिकका सहरहरूमा बिक्री हुने गरेको छ । कागतिका लागि स्थानीय बजारमा गाउँ नजिकका हाटबजार र खुद्रा व्यापारीहरू मार्फत बिक्री हुने गरेको, पालुङ्टार, गोरखा बजार र आसपासका गाउँहरू प्राथमिक व्यापार गन्तव्य बनेका छन् । यसैगरि नजिकका शहरहरूमा पोखरा, बुटवल र काठमाडौंका खुद्रा बजार तथा थोक व्यापारीहरूले माग गर्ने गरेको पाइएको छ । राजमार्ग पहुँचले ढुवानी सहज भएको सहकारी र संकलन केन्द्र जस्ता इकाइ तथा कालिका महिला किसान क्लब जस्ता समूहहरूले संकलन गरी बुटवलसम्म पुर्याउने गर्छन ।
