आरसी टाइम्स व्युरो
स्याङ्गजा, आषाढ ६
स्याङ्गजाको आँधीखोला क्षेत्रका किसानहरुको सक्रियतामा स्याङ्गजामा सूरु भएको प्राङ्गारिक कृषि अभियान जिल्लाका अन्य पालिकाहरुमा पनि विस्तारित हुदै गएको छ । आपसी सहयोग केन्द्रको सक्रियतामा हालै स्याङ्गजाका विभिन्न पालिकाहरुको सहकार्य र कृषि ज्ञान केन्द्रको सहजीकरणमा यो अभियान विस्तारित हुन लागेको जनाइएको छ । यो प्राङ्गकारिक कृषि अभियानलाई डेनमार्कको
ट्रेङ्गल डेनमार्क र शिसु नामक संस्थाले अर्थिक सहयोग गरेको पनि जनाइएको छ । यसै अभियानको योजना तर्जुमा छनोटका लागि हालै स्थानीय जनप्रतीनीधि र सरोकारवालाका बीच स्याङ्जाको सदरमुकाम पुतलीबजारमा अन्तरकृया सम्पन्न भएको छ ।
प्राङ्गारिक कृषिलाई व्यवसायिक विस्तारका लागि भएको सभामा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले हाम्रो बिगतको नियमित पेशा स्वस्थ कृषि उपज उत्पादनलाई अहिले जथाभावी रासायनिक मल र बिषादीले दिनानुदिन बिगारहेको अवस्थामा यो कार्यक्रमले स्थानीय सरकारलाई पुनः सोच्नको लागि घचघच्याएको र भविष्यमा प्राङ्गारिक कृषिलाई व्यवसायिक पेशाको रुपमा प्रवर्धन गरेर रासायनिक मल र बिषादिको अभाव हुने स्थिति र यसले हुने हानीलाई रोक्नको लागि टेवा पुग्नेमा आशाबादी रहेको बताए ।
कार्यक्रममा स्याङ्जा जिल्लामा प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरणको क्षेत्रमा भएको प्रगतीका बारेमा चर्चा गरिएको थियो । यसै क्रममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका हरीप्रसाद ढकालले स्याङ्जामा प्राङ्गारिक कृषि उपलब्धि, चुनौती र सिकाई, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले प्राङ्गारिक कृषि बाली उत्पादन के किन र कसरी, द बजार पोखराका तुलसी गिरीले प्राङ्गारिक उत्पादनको संभावना र प्राङ्गारिक प्रमाणिकरणमा सहभागीतामुलक विधिका साथै कृषि बजारलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम बारे प्रकास पारेका थिए भने डेनमार्कका कृषि अर्थ बिज्ञ पाउल राय क्लेडलले विभिन्न देशका प्राङ्गारिक बजार टिकाउने जुक्तिका बारेमा छलफल चलाएका थिए ।
कार्यक्रममा भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द प्रसाद कर्माचार्य, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, स्याङ्जा पिजिएसका संयोजक छाँयाराम खनाल समेतले जिज्ञासा एवं सुझावहरु राखेका थिए । आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा भएको अन्तक्रियामा आस्क नेपाल काभ्रे शाखाका कार्यक्रम व्यवस्थापक प्रह्लाद प्रसाद तिमिल्सिना, ट्रेङ्गल डेनमार्कको नेपालमा सहयोगबारे त्रिकोण डेनमार्कका नेपाल संयोजक रबिन बोगटी र स्याङ्जामा प्राङ्गारिक कृषि क्रियाकलापका सञ्चालन अनुभव तथा सिकाइहरुका बारेमा कार्यक्रम प्रमुख हरीप्रसाद ढकालले प्रस्तुती राखेका थिए ।
स्याङ्गजाका चार विद्यालयमा विद्यार्थी कृषि पाठशाला संचालनमा ल्याइएको र भविष्यमा यसको प्रभावकारिता समेत मापन गरिने तयारी भइरहेको जनाइएको छ ।