कृषि आधुनीकिकरण परियोजनाका प्रादेशिक एकाइ तथा साझेदार स्थानीय सरकारका प्रतिनिधिहरुले सुपरजोन परियोजनाको माध्यमबाट प्रादेशिक कृषि विकासमा गरिएको योगदान र आत्मनिर्भरताका क्षेत्रमा पारेको प्रभावका बारेमा समिक्षा गरेका छन् ।
हालै पोखरामा भएको एक समिक्षामा प्रदेशका ११ जिल्लाका परियोजना एकाइ प्रमुखहरुले गत आर्थिक वर्षमा अनुदान मुलक र प्रविधि हस्तान्तरण मुलक गतिविधिहरुका बारेमा आफ्ना भोगाइ र समस्या प्रस्तुत गरे ।
पोखरामा भएको समिक्षामा कास्की जिल्ला समन्वय समितिका अध्यक्ष लिलाधर पौडेलले परियोजनाको १० वर्षे लक्षको आधा समय भएकाले मध्यावधि समिक्षाको खाँचो रहेको बताए । परियोजनाले धेरै क्षेत्रमा हातहाल्नु भन्दा विशेष क्षेत्रमा मात्रै रोलमोडल काम गर्न खोज्नु पर्ने , नाफामुखी बस्तु केन्द्रीत हुनु पर्ने बताए । परियोजनाले साना किसानलाई समृद्धिमा जोडने प्रयास गर्नु पर्नेमा ठुला किसान खोज्दै हिडेको पौडेलको तर्क थियो ।
परियोजनाका क्रियाकलापका बारेमा सातै प्रदेशको अवस्था र गण्डकी संगका तुलनाका बारेमा परियोजना केन्द्रका प्रतिनिधि दिवसराज विष्टले प्रस्तुति गरेका थिए । परियोजनाका विगतका सिकाइमा ५८ करोड बेरुजू देखिएको र अदालती प्रकृयाका कारण किनारा लाग्न बाँकी भएकाले बेरुजुको व्यवस्थापन हुन नसकेको बताएका थिए ।
समिक्षाका क्रममा जती बढी बजेट उतिबढी बेरुजुको अवस्था देखिएका प्रति सहभागीहरुले सबाल उठाएका थिए । कस्टम हायरिङ्ग र कृषि यान्त्रीकरणमा तराइका जिल्लाहरु खासगरि झापा, चितवन र बर्दीयामा राम्रो देखिएको विष्टको प्रस्तुति थियो । परियोजनाको कार्यपात्रो अनुसार क्रियाकलाप गरेको भएपनि किसानहरुका तर्फबाट भुक्तानी दावी गर्ने र कागजात व्यवस्थापन गर्दा असार मसान्तसम्म काम नभ्याइएका अवस्थाले कार्यसम्पादनमा प्रभाव परेको उनको दावी थियो ।
समिक्षामा कास्कीका समन्वय अधिकारी नवराज बराल, पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीया र कास्कीका पकेट क्षेत्रका गाउँपालिकाका कृषि शाखा प्रमुख तथा परियोजनाका जोन तथा ब्लक क्षेत्रका इकाइ प्रमुखहरको सहभागीता र प्रस्तुति रहेको थियो ।
फलफुल जातमा कागती, सुन्तला, स्याउका जोन , अदुवा र अलैची जस्ता मसला बालीका बल्क र तरकारी तथा धानका सुपर जोन परियोजना संचालन गर्दै आएको परियोजनाले निर्यातमुखी कफीमा पनि लगानी गरेको र अव ७७ जिल्लाका कृषि विकासका लागि दीर्घकालीन साझेदारका रुपमा परियोजना निरन्तर रहने परिस्थीति बन्न थालेको बताइएको छ ।