महेन्द्र जिसी, पर्वत , कार्तिक २२
‘धानको बालाः कोदाको कपनी’ , लोक वेसीमा किसानहरु माझ गुन्जीने लोक भाकामा सुनीने लय हो यो । धानको उत्पादनको महत्व बाला हेरेर हुन्छ भने कोदोको उत्पादकत्व पनि कोदोको कपनी (बाला) बाट निधो गरिन्छ । स्वस्थकर खाद्यन्नमा कोदाका परिकारहरुको खोजी हुन थाले पछि गाउँघरमा आजभोलि कोदो खेतिका लागि सरकारी सहजिकरण पनि हुन थालेका छन् । तर पनि पर्वत –३ दुर्लुङका कृषक खडानन्द शर्माले कोदो रोप्ने बारीमा लप्सीका बिरुवा रोपेका छन् । वर्षमा झण्डै १५ मुरी कोदो फल्ने गरेको उनको बारीबाट गत वर्ष ३० पाथीभन्दा बढी उत्पादन हुन सकेन । दुर्लुङ लेकाली खेतीको ठाउँ भएका कारण धान खेती हुँदैन । बजारबाट खरिद गरेको चामल र गाउँमा फलेको कोदोको भरमा जीविका चलाउने गरेका उनलाई अब कोदोको आस मरेको छ । यसरी कोदोमा आशा मरेको कारण भने कोदोमा लाग्ने गवारो किरा हो ।
‘पहिले—पहिले १५ मुरीसम्म कोदो फलाइएकै हो । अलिकता जग्गा छाडेर राम्रो मात्रै लगाउँदा पनि ६—७ मुरी फल्त्यो , पोहोर त ३० पाथी भन्दा भएन । कोदोको बोट हुर्केर राम्रो भएर पसाउने बेलामा गवारोले काट्छ,’ त्यस पछि नल मात्रै हुन्छ’ शर्माले भने । ‘त्यसै भएर यो वर्ष जग्गा फेरेर लगाए हुन्थ्यो की भनेर नयाँ ठाउँमा लगाएको अहीले पनि गवारोले काट्यो । मैले कोदो भन्दा लप्सी ठिक मानेर बारीमा लप्सी लगाएको छु । ’
दुर्लुङ क्षेत्रमा लगाइएको झण्डै ८० प्रतिशत कोदोमा गवारे किराको प्रभाव छ ।
दुर्लुङ जस्तै मोदी गाउँ पालिकाका चित्रे, क्याङ, राम्जा लगायतका क्षेत्रमा लगाइएको कोदो खेतीमा पनि पहेँलो हुने, बाला नलाग्ने र बिस्तारै बोट मर्ने समस्या देखिएको छ । धेरै गर्मी हुने बेँसीमा भन्दा केही चिसो हुने लेक क्षेत्रमा लगाइएको कोदोको गवारो किराको प्रभाव परेको देखिएको तथा विगतमा भन्दा यो वर्ष झनै क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । पछिल्ला २—३ वर्ष यता गवारे किराको प्रकोप देखिएकोमा अहिले झनै क्षति भएको भनेर लेक क्षेत्रका कृषकले गुनासो आईरहेको ज्ञान केन्द्र प्रमुख थापाको भनाई छ ।
यसले पर्वतमा हुने कोदोको उत्पादनमा ह्रास ल्याएको छ । ‘जब कोदोको बोट वयस्क भएर राम्रोसँग हुर्किन्छ अनि पसाउँछ । त्यही बेलामा बिरुवाको काण्डमा गवारेले छेड्छ । त्यसको असरले पसाउन पाउँदैन । बिस्तारै बोट पहेँलो हुँदै मर्ने गरेको कृषि प्राविधिकहरुले बताउँछन ।
कृषकको धेरै गुनासो आएपछि मोदी गाउँपालिकाको क्याङमा ‘बाली उपचार शिविर’ राखेर त्यसको प्रभाव कम गर्ने प्रयास गरिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत नारायण शर्माले बताए । त्यहाँका ३५ जना कृषकले ल्याएको बिरुवा परीक्षण गर्दा पचास प्रतिशतमा गवारोको समस्या देखिएको र त्यस बाहेक पातमा लाग्ने थोप्ले रोग र मरुवाको पनि प्रकोप रहेको पाइएको छ ।
‘हामीले बाली उपचार शिविर नै राखेर प्रकोपको बारेमा खोजेका थियौँ । तर अबको उपचारले त्यो प्रकोप नियन्त्रणमा आउने अवस्था छैन । त्यही पनि हामीले तत्काल गर्न सकिने प्रयास भने गरेका छौँ,’ शर्मा भन्छन्, ‘प्रकोप देखिएका अन्य ठाउँमा पनि कृषि प्राविधिकहरू पुगेर तत्काल गर्न सकिने प्रयास त गरिएकै छ । सकेसम्म कम क्षति होस भन्नेमा लागिरहेका छौँ ’ शर्माले भने ।
गवारोको प्रकोप बढ्नुको कारण जलवायु परिवर्तनसँगै बारीमा गरिने सरसफाइको अभावले भएको ज्ञान केन्द्र प्रमुख थापाले बताइन् । पहीला चौपाया धेरै पालिएका गाउँहरुमा अहीले चौपाया पालन घट्दै गएको र गोबर , गहुँतबाट पाउने तत्व सँगै वारीका कान्ला र छेउ छाउको घाँसको खपत तथा सरसफाई हुने क्रम रोकिएको कारण गवारोलाई अनुकुलता बढेको थापाको भनाइ छ । बारीका छेउ कान्लामा हुने घाँस मार्फत वालीमा पनि यसको असर देखिन थालेको थापाले भनिन् ।
जलवायु परिवर्तनले बालीका मित्र जीवलाई भन्दा शत्रु जीवलाई उपयुक्त हुने वातावरणको विकास भएकाले हरेक बालीमा फरक फरक समस्याहरू देखिएको उनको भनाइ छ । ‘क्लाइमेट चेन्जका कारण शत्रु किरा सुहाउँदो वातावरण रहँदा ती किराको प्रजनन चक्र तोडिन सकेको छैन । तिनीहरूको प्रभाव बढ्दा मित्र किरा हराउँदै गए, बिरुवाको शक्ति पनि क्षय भएको छ,’ थापा भन्छिन्, ‘अर्को कुरा बारीका कान्ला वा कोदो रोपिएकै ठाउँमा पनि सरसफाइको आवश्यकता हुन्छ । तर कान्लाभरि झाडी छ, बारीका पाटा पनि सफा नहुँदा रोगको जीवाणुले आश्रय पाइरहेका छन् ।’
गवारे किराको प्रकोप नियन्त्रण गर्ने विषादी कडा हुने र त्यसको प्रभाव लामो समय रहने भएका कारण अन्तिम अवस्थामा विषादीको प्रयोग नगर्न कृषकलाई कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ । विषादीको ‘वेटिङ’ समय लामो हुँदा बाली भित्र्याएपछि पनि अन्न र नल (बाला काटिएको कोदोको बोट) मा पनि विषादी कायमै रहन्छ । त्यस्तो अन्न र नल मानिस वा पशु दुवैलाई विषाक्त हुने भएकाले यो वर्ष विषादीको प्रयोग नगरिएको हो । तर आगामी वर्षमा भने कोदो गोड्दासाथ विषादी प्रयोग गरेर प्रकोप नियन्त्रणमा लिन कृषकलाई सुझाइएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा आठ हजार ३५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । त्यसबाट करिब ११ हजार १८९ मेट्रिक टन कोदो उत्पादन हुन्छ । सात हजार २२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गवारे किराको प्रकोपकै कारण यस वर्ष कोदो उत्पादन धेरै गिरावट आउने देखिएकोे छ ।