आरसी टाइम्स व्युरो
पोखरा, कार्तिक २९
पोखरा आसपासमा धान खेति थन्क्याउने चटारोमा किसानहरु व्यस्त भइरहेका छन् भने केहीले हिउँदै आलु खेतिका लागि विउँको जोहो र बारीको तयारी पनि थाली सकेका छन् । किसानहरुलाई खेत बाझो नराख्नका लागि हिउँदे खेतिमा प्रोत्साहन गर्न स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले पनि सहजिकरण गर्दै आएको पाइएको छ ।
स्थानीय पालिकाहरुले आलु खेतिका लागि विउँ भण्डारण तथा विउँ खरिदमा अनुदान दिएर भएपनि किसानलाई टेवा दिन खोजेको बताएका छन् । हालै आलु विउँमा अनुदान दिनकालागि स्थानीय पालिकाहरुले किसानहरु सूचिकरण गर्दै अनुदान प्रवाह तथा आलु विउँ वितरण र ढुवानीमा सहयोग गरेका छन् ।
पोखरा महानगरले किसानहरुलाई आलु विउँ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने माछापुच्छ्रे्र गाउँ पालिकाले ८५ प्रतिशत अनुदान दिएको जनाएको छ । माछापुच्छ्रे गाउँपालिकाको वडा ८ ले ८५ प्रतिशत अनुदानमा आलुको विउँ वितरण गरेको वडा कृषि सञ्जालका संयोजक मदन दाहालले व्युरोलाई जनाएका छन् ।
छिमेकी पोखराको हेम्जामा आलु ब्राण्डिङ्ग र बजारिकरण देखिरहेका साविकको ल्वाङ्ग घलेल गाउँका किसानहरुले आफ्नो वडालाई आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न ३१६ घर परिवार र किसान समूहले आलु खेतिमा आत्म निर्भर हुन १२ हजार किलो आलु विउँ माग प्रस्तुत गरेकाले गाउँ पालिका बाट आलु प्रबर्धनात्मक कार्यक्रम मार्फत पाँच लाख लगानी गरेको र कास्कीको कृषि ज्ञान केन्द्रले २ लाख लगानी गरेको कृषक सञ्जालका अगुवा दाहालले जनाएका छन् ।
गाउँपालिकाले विगतको आलु उत्पादन अभियानलाई निरन्तरता दिएको र किसानहरुको मागमा कृषि ज्ञान केन्द्रले पनि सघाएको वडाध्यक्ष राम गूरुङ्गले व्युरोलाई जनाएका छन् । किसानहरुलाई निशुल्क विउ वितरण गर्ने सोच भएपनि माग उच्च रहेका ले सहभागीता स्वरुप १५ प्रतिशत किसानको मुल्य र ८५ प्रतिशत अनुदान बाट १२ हजार आलुको विउ वितरण गरिएको वडाध्यक्ष गूरुङ्गले जनाएका छन् । किसानहरुको उत्साहलाई ध्यान दिएर वडाले आलु भण्डारण र बजार मुल्य अवसर छोप्नका लागि कोल्ड स्टोर निर्माणका लागि दाताहरुको खोजी गरेको पनि गूरुङ्गले जनाएका छन् ।