आरसी टाइम्स व्युरो/पोखरा,
पोखरा महानगरमा आलु उत्पादन बढाउन उन्नत जातका बीउ आलु उत्पादनमा जोड दिइएको छ । किसानहरलाई उन्नत जातका आलु को बीउ उत्पादनका लागि अनुदान समेत प्रवाह गर्दै आउको महानगरले हालै किसानको आलु खेतिका लागि तयारी भइरहेको बारी तथा रोपाइ प्रकृयाको अनुगमन पनि थालेको छ । संघीय सरकारको सशर्त अनुदान समेत परिचालन गरिएको आलु विउ उत्पादन प्रकृयामा गण्डकी प्रदेश कृषि निर्देशनालयका प्रमुख बासुदेव रेग्मी र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाको टोलीले संयुक्त अनुगमन थालेका छन् ।
महानगरपालिकामा चालु आर्थिक वर्षमा बीउ आलु उत्पादनका लागि पोखरा वार्ड २३, १६, १३, २६ र २९ मा करिव ६५ रोपनी खेतमा आलु खेति गरिदैछ । सोही अभियान अन्तर्गत सामुहिक आलु बीउ उत्पादनमा सकृय दिपशिखा महिला सहाकारी तथा सफल महिला कृषि समूह पोखरा २९ ले १०,१० रोपनीमा गरि जम्मा २० रोपनी क्षेत्रमा आलुखेति गरिरहेको छ ।
महानगरले खायन आलु उत्पादनमा पनि किसानहरुलाई विउ आलु किन्नमा ५० प्रतिशत अनुदान प्रबाह गर्दै आएको छ ।
एक वार्ड एक पकेट कार्यक्रम अनुसार पोखरा २७ मा आलु पकेट कार्यक्रमको लागि कृषि सन्जाल प्रतिनिधिहरुको उपाथितिमा ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ, प्राङ्गारिक मल, सूक्ष्म खाद्य तत्व, ढुसिनाशक बिषादी बितरण गरिएको महानगरपालिकाले जनाएको छ ।
आलु रोपेपछी अनुगमन गरि कम्तिमा १ रोपनीमा आलु रोप्ने कृषकको लागि जग्गा तयारी बापत प्रोत्साहन स्वरुप रु ५०० उपलब्ध गराइने पनि जनाइएको छ ।