गोपाल जीटी
वालिङ्ग, फाल्गुण २८
यतिबेला किसानहरु आलु खन्ने काममा व्यस्त छन् । विगतका वर्षमा जस्तो यो वर्ष हिउदे वर्षा नभए पनि आलु खेतिका लागि समग्रमा राम्रो भएको देखिएको छ । स्याङ्जाको चापाकोट क्षेत्र जिल्लाकै मधेश भनेर चिनिन्छ । तर आलुलाई घरायसी प्रयोजनका लागि परम्परागतरुमा मात्रै लगाउने गरिन्थ्यो ।
यस पटक भने आय आर्जनसँग जोड्नेगरी लगाउने अभ्यास गरिएको छ । चापाकोट नगरपालिका वडा नम्वर ८ क्वामीस्थित रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा व्यक्तिगत एवम् सामुहिक आलुखेतिको अभ्यास गरिएको छ । यो पहिलो अभ्यासको उत्पादनले आलु लगाएर राम्रो आम्दानी लिन सकिने पुष्टी गरेको छ । लगाएको आलुले फल राम्रो दिएसँगै किसानहरुलाई उत्साही बनाएको छ ।
सामुहिकरुपमा काम गर्दा सजिलो र रमाइलो भएको यहाँका अग्रज किसान खगेश्वर तिवारी बताउनुहुन्छ ।
सामुहिकरुपमा रमाइलो सँग काम गरियो, आलु पनि धेरै फलेकाले खुसी लागेको यहाँका ६६ वर्षीय किसान खगुपति घिमिरेको भनाई छ । विगतका वर्षमा खानका लागि मात्र लगाइन्थ्यो, आम्दानी हुनेगरी उत्पादन लिन सकिन्छ भन्ने सोंच थिएन तर अहिलेको अभ्यासबाट आलु लगाएर राम्रो आम्दानी गर्न सकिदो रहेछ भन्ने देखाएको अर्का किसान खुनाकुमारी कोइरालाको भनाई छ ।
रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा गरिएको पहिलो अभ्यासले आलु खेति गरेर राम्रो आम्दानी लिन सकिने सावित गरेको हो । २५ जनाको समूहले डेढ रोपनी क्षेत्रफलमा १ सय ५० किलो बीउ लगाएका थिए । यसबाट एक हजार २ सय किलो भन्दा बढि उत्पादन भएको छ । यसकासाथै समूहका २५ घरधुरी प्रत्येकले ३ क्वीण्टलको अनुपातमा आलु लगाएका छन् । यसमध्ये आधा जतिले खनिसकेका छन् । प्रति एक किलो बीउबाट १० देखि २२ किलोसम्म फलेको संस्थाका अध्यक्ष कमल प्रसाद पौडेलले बताएका छन् ।
परम्परागतरुपमा घराएसी प्रयोजनका लागि मात्र आलु लगाइन्थ्यो, आम्दानी लिनेगरी फल्छ भन्ने सोंच थिएन । अहिले गरिएको पहिलो अभ्यासले आलुखेति गरेर राम्रो आम्दानी लिन सकिने पुष्टी गराएको अध्यक्ष पौडेलको भनाई छ । गुणस्तरीय बीउ लगाएर रेखदेख पु¥याएको खण्डमा आलुबाट चापाकोट क्षेत्रमा राम्रो आम्दानी लिन सकिने देखाएको छ । एक बोरा बीउबाट २४ बोरासम्म फलेको पाइयो । हिउदको याममा विशेषगरी तोरी, गहुँ, केराउ लगाइन्थ्यो । यसको ठाउँमा आलु लगाउँदा दशौं गुना बढि उत्पादन लिन र आयआर्जन गर्न सकिने यो पहिलो अभ्यासले सावित गराएको रा किसानहरुलाई उत्साही बनाएको पौडेलले बताए ।
सहकारीले कार्यक्रम अन्तर्गत १ सय ८० रोपनीमा चिप्सवाला आलु लगाइएको छ । यसमा ५ वटा समूह छन् । संस्थाका अध्यक्ष पौडेलका अनुसार कृषि ज्ञानकेन्द्रबाट बीउकासाथै यान्त्रिकिकरणमा ७५ प्रतिशत अनुदान प्राप्त भएको हो । यसकासाथै आवस्यक विषादी ज्ञानकेन्द्रले निःशुल्क उपलव्ध गराएको थियो ।
५ वटा समूहले २४ हजार किलो आलुको बीउ लगाएका सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए । उत्पादित आलु भैरहवास्थित चिप्स बनाउने एक कम्पनीले खरिद गर्ने ग्यारेण्टी लिएकाले बजारीकरणको समस्या छैन । यसरी हेर्दा अन्य खेति भन्दा आलु लगाएर दशौं गुना बढि फाइदा लिन सकिने अहिलेको उत्पादनले देखाएको उनको भनाई छ । यसका लागि सत्रुजीव नियन्त्रण ( आइ पि एम ) कृषि पाठशालाले सहजिकरण गरेको थियो ।