गोपाल जीटी/आरसी टाइम्स
स्याङ्गजा, श्रावण २१
हामी जीवन निर्वाहकै लागि भनेर भौंतारिइरहेका हुन्छौं । आफ्नै वरिपरीका अवसर देख्न र चिन्न नसकेर दुःख पाइरहेका पनि हुनसक्छौं । परिश्रमीले आफ्नै वरिपरी अवसर देख्छन् ।
हेर्दा र सुन्दा सामान्य लाग्नसक्छ, तर त्यही सामान्य लाग्ने काममा असामान्य सम्भावना हुनसक्छ । यसका उदाहरण हुन्— पूर्णबहादुर थापा ।
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्वर ६ गैह«ीका पूर्णबहादुर सामान्य कृषकका रुपमा चिनिन्छन् । थापाको पुरानो गाउँ चापाकोट नगरपालिका ९ पिपलडाँडा हो । थापाले विगत ४० वर्षदेखि ज्याग्दीखोला गैह«ीमा कृषि पेशासँगै आफ्नो जीवनयात्रा अगाडि बढाइरहेका छन् । त्यसो त पैसा कमाउन बाहिरजाने क्रममा तीन वर्षजति मलेशियामा वैदेशिक श्रमको अनुभव गरेर फर्केका हुन् । मलेशियामा जति श्रम र समय लगाएर यहाँ गर्ने हो भने त्यसको डवल कमाई गर्न सकिने उनको अनुभव छ ।
अहिले थापाको आयआर्जनको माध्यम वन मौरी बनिरहेको छ । जङ्गलबाट उठाएर ल्याएको मौरी विस्तार गर्दैजाँदा थापासँग अहिले २५ घार छन् । गत वर्ष आँफूले खाएर र इष्टमित्रलाई दिएर पनि करिव एक क्वीण्टल मह विक्रि गरेका उनको आय आर्जनको माध्यम त्यही मौरी बन्दै आएको हो ।
एकदिन काठ काट्ने शिलशिलामा जङ्गल गएका थापाले एउटा रुखमा मौरीको पोका देखे । यो भन्दा पहिला“ उनलाई मौरी पाल्ने कुनै सोंच नै आएको थिएन ।
मौरी त राम्रो कुरा हो, यसो विचार गरौं न, कसो नहोला र भनेर घरमा लैजाने विचार आयो । अनि घरमा ल्याएर मुढे घारमा राखे । न त अनुभव, न कसैको सल्लाह, न त कुनै ज्ञान थियो, मात्र गाउघरमा बुढा पाकाले पालेका मौरीका एक दुई मुढे घार देखेका थिए । त्यही जङ्गलबाट ल्याइएको सेरेना मौरी विस्तार गर्दैजाँदा अहिले २५ घार भएका छन् । मुढे घारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी विस्तारै आधुनिक घारको प्रयोगसँगै मह उत्पादनमा वृद्धि हुदैजाँदा थापाको लागि अहिले आय आर्जनको माध्यम बन्दै आएको छ ।
थापा भन्छन्, “मह जस्तो चीज आँपूmले खान र अरुलाई पनि चखाउन पाइएको छ भने बढि भएको विक्रि गरेर आम्दानी पनि लिन पाइएको छ । लाग्छ, ती मौरीले मलाई नै पर्खेर बसेका रहेछन् । अहिले तिनै मौरीलाई थप विस्तार गर्ने योजनामा छु । यसकासाथै गोला फुटालेर गोलासहितका घार विक्रि गर्ने सोंचमा छु ।”
उनले सुरु गरेको साढे दुईवर्ष भैसकेको छ । छरछिमेकमा अरुले पनि मौरी पाल्ने रुचि गर्न थालेका छन् । ज्याग्दीखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेछ भन्ने देखिएको थापाले भने । मौरीका लागि वन जङ्गल मुख्य चरन हो । यो क्षेत्रमा वारिपारी प्रसस्त वन बुट्यानहरु छन्, त्यसैले चिनी चास्नी अहिलेसम्म प्रयोग गर्न नपरेको उनले बताए ।
यो वर्ष पनि करिव १ क्वीण्टल मह उत्पादन भएको थियो । बजारको समस्या छैन, घरबाटै विक्रि हुन्छ । गाउँभन्दा बाहिरदेखि पनि माग आउन थालेको छ । त्यसैले अब अरु विस्तार गर्ने सोंचमा छु, थापाले सुनाए । आफ्नोसँगै जोडिएको ४ रोपनी जग्गा ८० हजारमा बन्धकीमा लिएर खेतिपातीकोसाथमा अन्य उत्पादनमा जोडिएको हुँ उनले थपे । ५५ वर्षीय थापाका श्रीमती दुर्गामायाँकोसाथमा २ छोरा र १ छोरी छन् । छोरीको विवाह भैसकेको छ भने छोराहरु पनि तन्नेरी भएका छन् । जिविकोपार्जनका लागि आफ्नै ठाउँमा अवसर छ भन्ने अनुभवले देखाएको र यसैमा रमाउने गरेको थापाको भनाई छ ।