आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७.
उत्तरी पोखराका चार गुफाहरुको पर्यटकीय गतिविधिलाई विकासको लाभांशमा रुपान्तरण गर्ने हेतुले संचालनमा ल्याइएको केभ सिटी पर्यटन सहकारीले रैथाने बालीको रैथाने परिकारसम्बन्धी परम्परागत सिप, ज्ञान, अन्न र परिकारको दिगो विकास र पर्यटन बजारमा मुल्यमा रुपान्तरण गर्ने हेतुले रैथाने बाली परिकार प्रदर्शनी गरेको छ ।
सहकारीमा आवद्ध ३२४ जना सदस्य मध्ये १८३ जना महिला सहभागी रहेको उक्त संस्थाले महेन्द्र गुफा, चमेरे गुफा, कुरु गुफा र सिप्ली गुफालाई प्रवद्र्धन गर्ने तथा सम्पर्कमा आएका पर्यटकलाई रैथाने वालीको रैथाने परिकार खानाका लागि उपलब्द्ध गराउने क्षमता सदस्य परिवारमा विकास गर्न कार्यशाला मार्फत प्रोत्साहन र क्षमताको प्रस्तुतिका लागि प्रदर्शनी राखीएको सहकारीका अध्यक्ष बेनी बहादुर बस्नेतले जनाएका छन् ।
सहकारीका ६८ जना महिला सदस्यले रैथाने बालीको रैथाने परिकार बनाएर प्रदर्शनीमा भाग लिएका थिए । उक्त अभियानमा कृषि ज्ञान केन्द्र, पोखरा महानगर कृषि महाशाखाको रैथाने बाली प्रबद्र्धनात्मक सहयोग कार्यक्रमले पनि सहजीकरण गरेको बताइएको छ ।