आरसी टाइम्स
पोखरा,कार्तिक २०
तिहारे पर्वको पूर्व सन्ध्यामा पोखरामा पुष्प प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । पोखरा रंगशालामा सूरुभएको तीन दिने मेला एक दिन थपीएर भोली मंगलबारसम्म संचालन हुदै छ ।
फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) ले चौथो संस्करणको पुष्प मेला गत शुक्रवारदेखि सुरु गरेको हो । मेलामा विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल पनि छ । पोखरासहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ ।
तिहारे पर्वमा देश बाहिरबाट पनि पुष्प आयात हुने र मुद्रा बाहिरिने तथा उपभोक्ताहरुले बढी मुल्य तिर्नु पर्ने अवस्था न्युनिकरण गर्न तथा स्थानीय किसानहरुको आयस्तर वृद्धिका लागि पोखरा महानगरले तिहार लक्षित फूल उत्पादनका लागि बिउमा ५० प्रतिशत अनुदान दिएर १०८ जना किसानलाई अनुदान परिचालन गरेको छ ।
यसैबिचमा पोखरा महानगरले विदेशी आयातलाई पुर्ण निरुत्साहित गर्ने र प्लास्टिकका फुल बिक्रिलाई निषेध गर्ने नीति लिएको जनाएको छ । महनगरपालिकाले स्थानीय फुल प्रबद्र्धन गर्दै र प्लास्टिक तथा आयतित फुल निरुत्साहित गर्दै स्थानीय फुल उपयोगको लागि नागरिकहरुमा सूसुचित पनि गराएको छ ।
प्लास्टिकजन्य फुलगुच्छाको विक्री वितरणमा पनि पूर्ण रोक लगाउँदै वातावरण संरक्षण ऐनले प्लास्टिकको फूल गुच्छाको बिक्री वितरण तथा भण्डारणमा पूर्ण निषेध गरेको भन्दै सरकारले कात्तिक १ देखि आयातित सयपत्री माला बन्द गरेकोले उक्त निर्णय कार्यान्वयन गर्न महानगरले चासो देखाएको जनाइएको छ ।
पोखरा भित्रका स्थानीय पुष्प व्यवसायी तथा पोखरा महानगरपालिकाको सहयोगमा १ सय ६५ रोपनी क्षेत्रमा किसानलाई महानगरले सयपत्री फूल खेती प्रवद्र्धन गरेको भन्दै आवश्यक फुलको लागि वडास्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
यो वर्ष महानगर तिहारको फूलमा आत्मनिर्भर रहेको र निकट दिनमा सयपत्रि फुलको पनि मेला आयोजना गर्ने तयारी भइरहेको आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन् ।