आरसी टाइम्स व्युरो
पोखरा,आषाढ १६
पोखरा महानगरपालिकाले यो वर्ष पनि कृषकहरूलाई ५० प्रतिशत लागत साझेदारीमा सयपत्री फूलको बीउ र मल्चिङ प्लास्टिक वितरण गरेको छ । शहरी उपभोक्ता बजार सन्तुलन र कृषि बहुआयामिकता लागि बजारोन्मुख पहलहरुमा स्थानीय सरकारको सहभागिता निरन्तरता दिन थालीएको छ । पोखरा महानगर कृषि शाखाको सक्रियतामा १६५ कृषक समूह, सहकारी र फार्महरूलाई बीउ र सामग्री वितरण भएको छ । यो कार्यक्रम नगरलाई सिजनल फूलमा आत्मनिर्भर बनाउने लक्ष्यतर्फ अग्रसर प्रयास रहेको दावी गरिएको छ ।
पोखराले वर्षेनी सयपत्रि फुल बजारमा सिमा पारीको भन्दा रैथाने वारीकै इलमीहरुको हितका लागि सेवा टेवा गर्न खोजेको देखिन्छ । तर पनि स्थानीय सरकारको तहमा हुने यस्ता सहकार्यहरुमा आम सार्वजनिक लाभ विस्तारका हिसावमा केही गम्भीर प्रश्नहरूको पनि जवाफ खोज्नु आवश्यक देखिएको छ ।
करिब ३ सय रोपनी क्षेत्रफलमा सयपत्रीको खेती विस्तार हुने अपेक्षा गरिएको यो अभियानले कृषि क्षेत्रलाई आर्थिक तथा सौन्दर्यिकरण दुबै दृष्टिले गतिशील बनाउन सक्छ । तर यस्तो कार्यक्रमको सफलताको आधार तत्कालीन वितरणभन्दा दीर्घकालीन रणनीतिमा निर्भर हुन्छ । जस्तो कि :
प्रश्न १ , फूल फुल्छ, तर बजार भेटिन्छ ?
बीउ वितरण र मल्चिङ प्लास्टिक सहयोग स्वागतयोग्य छ, तर उत्पादन पछि बजार व्यवस्थापन झनै चुनौतीपूर्ण छ । फूल उत्पादनले राम्रो आय ल्याउँछ भन्ने ग्यारेन्टी छैन, जबसम्म त्यसको बजारीकरण योजनाबद्ध ढंगले नगरले नै अगुवाइ गर्दैन । उत्पादनले बजार नपाउँदा किसान निराश हुने र तिहार ताकाको मेलामा बजार चुनौति भएको अगिल्लो वर्षको पाठले के सिकायो भन्ने कुरा कति ख्याल गरिएको छ ?
प्रश्न २ः आत्मनिर्भरताको अर्थ के उत्पादन मात्रै हो ?
पोखरालाई फूलमा आत्मनिर्भर बनाउने भनिएको छ, तर आत्मनिर्भरता भनेको केवल उत्पादन हैन, स्थानीय खपत, सामाजिक प्रयोग, बजार सञ्जाल र दीर्घकालीन साख निर्माण हो । अनुदान पाउनेको बजार मुल्य र अनुदान नपाउनेको बजार मुल्य निर्धारण तथा त्यो नीति, लगानी र शिक्षासँग जोडिनुपर्छ ।
प्रश्न ३ः नीति र योजना बीच तालमेल छ ?
महानगरले ३६ प्रकारका उत्पादनमा न्यूनतम समर्थन मूल्य तोकेको कुरा सकारात्मक छ । तर, यो सूचीमा फूल जस्ता सिजनल उत्पादन परेका छन् वा छैनन् ? सयपत्री फूल सिजनल मागको आधारमा मुल्य अस्थिर हुने उत्पादन हो—यसको लागि स्थायी नीति, उपभोग केन्द्र (बोटलिंग, सजावट, धार्मिक प्रयोजन) र मूल्य संरक्षण संयन्त्र तयार छ ?
फूल फुलाउन केवल बीउ होइन, भूमि, भरोसा र नीति चाहिन्छ ।
सयपत्री फूलको खेतीसँगै पोखरा महानगरले यदि कृषकलाई भरोसा, लगानीको प्रत्याभूति, र समुचित बजार प्रबन्धन दिन सक्छ भने यो प्रयास साँच्चिकै रंगीन हुनेछ। नत्र, फूल झैं सुन्दर लाग्ने योजना, मौसम सुक्दा ओइलिने फुलझैं बन्न सक्छ ।