आरसी टाइम्स व्युरो
पोखरा, भाद्र १८
रैथाने वैकल्पिक खाद्यन्न संरक्षाका लागि अन्तराष्ट्रिय अभियान चलिरहेको यो वजर्षमा स्थानीय सरकारहरुले पनि रैथाने खाद्यन्न संरक्षणका उपायहरुमा मुखरीत गर्न थालेका छन् । यसै क्रममा ग्रामीण पर्यटकी बस्तीहरुमा रैथाने कोदोवाली जोगाउन स्थानीय उत्पादनको वाली उपचार र माटो उपचारका प्यासमा पोखरा महानगरको कृषि शाखाले क्रियालाप गर्न थालेको छ ।
हालै मात्र पोखरा महानगरको वार्ड न १६ अर्मलाकोटमा रैथाने कोदो बाली केन्द्रित बाली उपचार शिविर संचालन गर्दै किसानहरुलाई प्राविधिकहरुसँग सम्बाद र सुधारका लागि सहजीकरण गरेको छ । कोदो वाली उपचार शिविरमा ५० जना कृषकले रोग किरा लागेको बोट नै उखेलेर शिविरमा ल्याएका थिए । अर्मलाका कोदो वालीमा डाठमा गवारो देखिएको, टुप्पो मरेको, फेद कुहिने र पातमा थोप्ले( ब्लास्ट) को समस्या देखिएको कृषि प्राविधिक अन्जली हमालले जनाएकी छन् ।
बाली उपचार शिविरमा पोखरा महानगरका कृषि प्राबिधिकहरु र कृषि बिज्ञ धन बहादुर रानाले किसानहरुको समस्या पहिचान र परामर्श दिएका थिए । शिविरमा अर्मलाकोट निकटका अन्य वडा १९ र २० का जनप्रतिनिधि र कृषि संजाल सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
शिविरमा बाली जोगाउनको लागि किटनाशक, ढुसिनाशक बिषादी उपलब्ध गराइएको थियो भने मल तथा माटो ब्यबस्थापनको लागि ट्राइकोडर्मा पनि बितरण गरिएको महानगर कृषि विकास शाखाले जनाएको छ ।