विशेष सम्पादकीय
पोखराको ढुङ्गेसाँघुमा माघे संक्रान्ति मेलाका अवसरमा हुने कृषि जैविक विविधता मेलाले रैथाने अन्नबाली र कन्दमुल प्रवद्र्धनात्मक अभियानलाइ टेवा पुर्याउने अपेक्षा गरिएको छ । यसले प्रादेशिक कन्दमुल अनुसनधान केन्द्रको स्थापनाको खाँचो र औचित्यबारे चलेको बहसलाई तार्किक निचोडमा लैजाने छ । विगतमा पनि सदाशिवजी हरिहर मन्दिर व्यवस्थापन समितिले कन्दमुल प्रवद्र्धनात्मक अभियान सञ्चालन गरेर प्रदेशका कृषि विकासका सरोकारवालाहरुलाई प्रादेशिक आत्म निर्भरता र कृषि पर्यटनका रणनितिक सबालहरुलाई व्यवहारमा ल्याउन कृषि सरकारलाई सकारात्मक हस्तक्षेप बढाइरहेको थियो ।
पछिल्ला दिनमा स्थानीय युवाहरुले कन्दमुल प्रवद्र्धन समिति मार्फत ढुंङ्गेसाँघुको मेलाको रैथाने रुपमा परम्परागत कृषि वस्तुको कारोबार स्थलका रुपमा बनाएको पहिचान जोगाउन लागीरहेका छन् । सदियौं देखि चोयाको भकारी तथा मान्द्रा, फलामका औजार, खुदो बदाम तथा कन्दमूलको व्यापारको पहिचान बनाएको यो मेलामा कन्दमुलका कृषक र पारखीहरुको जम्काभेट गर्ने जक्सनका रुपमा निर्माण भइरहेको छ । विगतका दिनमा कन्दमुल संरक्षण प्रयासमा पोखरा आरोग्य सेवा केन्द्रका अगुवा र सदाशिवजी हरिहर मन्दिर व्यवस्थापन समितिका अगुवाहरको सक्रियतामा कन्दमुल प्रवद्र्धनात्मक अभियानमा युवाहरुको परिचालन गर्नु र प्रादेशिक कन्मुलको विज बृद्धि तथा विकासका लागि श्रोत केनद्र निर्माणका लागी सिन्धुली समेत पुगेर श्रोत विउको पहल गरिनु गण्डकी प्रदेशको कृषि विकासका विभिन्न आयामहरुमा रैथाने बाली र बैकल्पीक खाद्यन्नका सबालमा बहस बढाएको थियो ।
रैथाने विकास समुहहरुको सक्रियतामा रचनात्मक सहकार्य गरेर पोखरा महानगर पालिकाले कन्दमुल विकासमा उजेलो सहकार्य गर्दै आएकोमा यस वर्ष आफै आयोजक बनेको छ र महानगरका कृषि सञ्जाललाई परिचालन गरेको छ । यसले सरकारी तवरमा स्वामित्व लिएको रैथाने बैकल्पिक खाद्यवालीको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । विगतका मेलाहरुले प्रदेशका धार्मीक सामाजिक गुठीका जमिनहरुमा कन्दमुल खेति अभियान सञ्चालन गर्न सक्ने हो भने प्रसादका लागि यजमानको मुख ताक्नु पर्ने थिएन, बरु बजारमा पुर्याउन समेत सम्भावना हुने थियो भन्ने पाठ सिकाएको छ । ऋषिहरुको तपोक्षेत्रका रुपमा पहिचान बनाएका प्रदेशका कतिपय संरक्षण क्षेत्रहरुमा कन्दमुलका विभिन्न प्रजातीहरु छन् र तिनको विज संरक्षणका लागि पनि सरकारी प्रयासको खाँचो छ ।
विगतमा गरिएको कन्दमुल मेलामा तरुल, गिठा, भ्याकुरको अलावा वीस प्रजातीका सखरखण्ड र पन्ध्र प्रजातीका पिडालुहरुको विज संकलन र संरक्षण तथा प्रदर्शनी भएको थियो । गण्डकी प्रदेश सरकारले विगतका वर्षमा चलाएको वातावरण मैत्री नमुना कृषि गाउँ परियोजना र संघीय सरकारको रैथाने बाली विकास कार्यक्रममा सरकारी पहल र बजेटमा हुने कार्यक्रमले गरेका संरक्षण प्रयासहरु पनि यो सन्दर्भमा समिक्षाका विषय बन्नेछन्। जलवायु अनुकुलनको निमित्त वैकल्पिक अन्नको वंशरक्षा गर्न कन्दमूलका वीउ सघन रुपमा वितरण गरिनु आवस्यक छ ।
प्रादेशिक किसानहरुमा जलवायु र जंगली जनाबरको प्रभावका कारण खेतिमा समस्या भोगीरहेका खबर आइरहेका बेला कन्दमुलको अभियान बाताबरण मैत्री र बजार मैत्रीसँगै जगतका अन्य प्रजातीका लागि पनि उपयुक्त हुने छ । किनकी कन्दमुलका फलहरु अरुका लागि माटो मुनीको फसल किसानका लागि सुरक्षित हुने हुँदा पर्यावरणका अन्य सहचरीहरुका लागि पनि कन्दमुल सहयोगी हुन सक्ने छ । यसकारण कन्दमुल मेलाले परम्परागत खाद्य सस्कृति प्रवद्र्धन गर्न मात्र नभइ कन्दमुल अनुसन्धान केन्द्र निर्माण र कन्दमूल प्रजाती श्रोत केन्द्र स्थापनामा समेत बल पुगोस भन्ने शुभकामना छ ।