आरसी टाइम्स व्युरो
पोखरा, पौष
पोखरा सुनाखरि पाइने प्रसिद्ध पञ्चासे गाउँमा यहि पुष ९ गतेदेखि मेला लाग्ने तयारी भइरहेको छ । कुनैबेला कोदो बालीको परिकारको मेला गरेर कृषि र भोजन संस्कृतिमा प्रचाात्मक पहिचान राख्न सकेको कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको हो ।
भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा अन्नपूर्ण गाउँपालिकाले विशेष सहयोगिको भुमिका निर्वाह गर्दै छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेका बताइएको छ । स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङले बताए ।
पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो ।
सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।