रामबहादुर केसी
सखरखन्ड बानस्पतिक प्रसारण गरिने बाली हो । सखरखन्ड दुई प्रकारले प्रसारण गर्न सकिन्छ, प्रथम टुसा पलाएका जरा र अर्काे छिप्पिएका लहराबाट कटिङ्ग काटेर ।
१. टुसा पलाएका जराहरूः यसलाई १० देखि १५ से.मी. गहिरो नाली खनि नालीमा लगाइन्छ ।
२. लहराबाटः छिप्पिएका लहरा कटिङ गरी तुरुन्त लगाउने वा केही दिन चिसो बालुवामा
राखी लगाउन सकिन्छ । लहरबाट कटिङ काट्दा २ देखि ३ आख्ला भएको हुनु पर्दछ । अर्थात् २० देखि २५ से.मी. लामो कटिङ्ग काट्नु पर्दछ । कटिङ्गलाई २ आख्ला ५ से.मि. पुर्ने र केही भाग देखाइ नालीमा सार्नुपर्दछ ।
वीउ दर ः २५ देखी ३० वर्गमिटर क्षेत्रफलमा उत्पादन गरिएका लहराहरूको कटिङ्गले १ रोपनीमा पु¥याउन सकिन्छ ।
जमिनको तयारी दुरी ः दुई तिन पटकराम्ररी खनजोत र पानीको निकासा मिलाउनु पर्दछ । र माटो धुलो पारी सम्याउन पर्दछ । एक हार देखि अर्को हारको दुरी ६० से.मी.र एक बोट देखि अर्को बोटको दुरी २५ देखि ३० से.मी. हुनु पर्दछ ।
लगाउने समयः मध्य पहाडमा फागुन देखि साउन र तराईमा चैत देखि भदौसम्म लगाउन सकिन्छ ।
सिंचाइ ः बर्षे बाली भएको हुनाले सिंचाइको त्यति जरुरत पर्दैन । तर पानी नजम्नको लागि निकासा राम्रो हुनु पर्दछ । असोज देखि मङ्सिरसम्म सुख्खा हुने हुनाले दुई तीन पटक सिंचाइ गरि दिएमा जरा बढ्न र मुसा लाग्न कम हुन्छ ।
गोडमेल ः जुन सुकै बालीमा पनि झारपात आउन दिनु हँुदैन । झारपात आएमा बालीलाई दिएको खाद्य तत्व सबै झारपातले लिन्छ र रोग कीराको पनि आश्रय हुने हुनाले उत्पादन घट्न जान्छ र त्यसैले गोडमेल गर्नु जरुरत पर्दछ र बिरुवा सारेको वा लगाएको ३०, ४० दिन पछि जरामा उकेरा दिनुपर्दछ । बिरुवा बढ्न र जरा बढ्नको लागि माटो खुकुलो चाहिन्छ । त्यसैले गोडमेल गर्नु जरुरी हुन्छ ।
बाली संरक्षण ः सखरखन्ड बालीमा मुसाले जरा मन पराउने हुनाले दुख दिन्छ । मुसाले माटो निकालेको देख्ना साथ त्यस्ता प्वालहरूमा सेलफस चक्की राखी प्वाल बन्द गरिदिनु पर्दछ र सरसफाइ र सिंचाइमा विशेष ध्यान प¥याउनु पर्दछ । त्यसो गरिएन भने मुसाले उत्पादनमा ठूलो नोक्सानी गरिदिन्छ ।
बाली खन्ने ः बोटका पातहरू पहेंलिए पछि १२० दिन देखि १५० दिन भित्र बजार अवस्था हेरेर बाली खन्नु पर्दछ । बाली खन्नु भन्दा पहिला हल्का सिंचाइ गरिदियो भने जरा निकाल्न वा खन्न सजिलो हुन्छ र खन्दा घाउ चोट लगाउनु हुँदैन । घाउ चोट लागेमा बजार अयोग्य हुन्छ ।
उत्पादन ः सरदर उत्पादन ५०० देखि १००० के.जी प्रति रोपनी लिन सकिन्छ ।
क्यूरिङ्ग ः सखरखन्ड खने लगत्तै त्यसमा कोरिएको वा अन्य घाउ चोटपटकमा खाटा बस्न लगाउन तथा चिनी उत्पादन गर्ने एन्जाइमहरू विकासमा बढावा दिन क्युरिङ्ग गर्नु अत्यावस्यक छ । परम्परागत रुपमा सखरखन्डलाई केही हप्तासम्म खेत वा बारीमा थुप्रो लगाएर अथवा बालुवाले छोपेर क्युरिङ्ग गरिन्छ । व्यावसायिक खेती गरिने ठाउँहरूमा सखरखन्डलाई ७५–८०% सापेक्षिक आद्रता तथा २७–३०० सेल्सियस तापक्रम भएको न्यानो तथा अँध्यारो कोठामा १०–१४ दिनसम्म राखेर क्युरिङ्ग गरिन्छ । क्युरिङ्गले जरामा लागेको चोटपटकमा खाटा बस्न दिने, भन्डारणमा कुहिने तथा चाउरिने समस्या घटाउने र स्टार्चलाई चिनीमा परिवर्तन गरेर सखरखन्डको सुवासना बढाउन मद्दत गर्दछ ।
भन्डारण ः क्युरिङ्ग गरिएपश्चात सखरखन्डलाई केही महिनासम्म भन्डारण गर्न सकिन्छ । सेतो भित्रि भाग भएको जातहरू दश महिनासम्म पनि भन्डारण गर्न सकिन्छ । भन्डारण गर्दा ७५ देखि ८० प्रतिसत सापेक्षित आद्रता तथा १३–१६० सेल्सियस तापक्रम भएको सुख्खा तथा राम्रो हावा सञ्चार भएको ठाउँमा भन्डारण गर्नुपर्दछ । न्युन तापक्रम भएको ठाउँमा धेरै दिन भन्डारण गर्दा सखरखन्डको जरामा कडा केन्द्रको विकास भइ खायन गुणस्तर खस्किने हुन्छ । त्यस्तै बढी तापक्रम हुने स्थानमा धेरै समयसम्म भन्डारण गर्दा टुसाउन सुरु गर्ने, चाउरिने र धेरै सुख्खा तथा सुस्क हुन जान्छ ।