महेन्द्र जिसी १ भदौ पर्वत,
सरकारी तवरमा असार १५ लाई धान दिवस भने पनि किसानहरुले साउनमा रोपेको धान खेतको रोगव्याधि नियन्त्रणगर्ने हरेलो पर्व बास्तविक धान पर्वका रुपमा लिने गरेका छन् ।
रोपाई सकीएपछि धानखेतमा रोग किराको प्रकोप न्युनीकरण गराउने परम्परागत हरेलो पर्व भने लोप हुँदै गएको छ । कृषि क्षेत्रमा आधुनिकता भित्रिए पछि परम्परागत शैलीमा मनाइँदै आएको हरेलो पर्वलोप हुँदै गएको किसानहरुले बताएका छन् ।
रोपाई सकिएपछि पहाडी क्षेत्रमा भदौ महिनाको पहिलो मंगलबार हरेलो पर्व मनाइन्छ । केही स्थानमा भने अन्तिम मंगलबार पनि यस पर्व मनाउने प्रचलन छ । भूमि पूजा अर्थात लगाएको वालिको न्वारन गर्ने परम्पराको रूपमा यस पर्वलाई लिने गरिन्छ ।
हरेलो नगरेको अन्न शुभ कार्य वा धार्मिक कार्यमा अशुद्ध हुने कृषक परिवारमा मान्यता छ । हरेलो गरेपनि वाली शुद्धिकरण मात्र नभएर खेती वालीमा रोग व्याधि नलाग्ने, रोग किराको प्रकोप कम हुने विश्वासका साथ हरेलो पर्वत मनाईने गरीन्छ ।
हरेलोकर्मका लागि भदौ महीनाको पहिलो मंगलबार धान खेतमा पुगेर कुस, जौ, तिल तथा धुप—धुवार सहित पुजा गरीन्छ । विहानै स्नान गरेर चोखो वस्त्र लगाउने, धूप, ध्वजा, मियाल वा कटुसको हाँगा खेतको आलीको डिलमा गाड्ने, अन्न वा गेडागुडीको बिउ भुसमा मिश्रण गरेर मकैको खोस्टामा बाबियोले बाँधेर पोको पार्दै पाती वा मियालको हाँगामा झुन्ड्याइन्छ । उक्त पोकोमा केही समयपश्चात राम्रोसँग अन्न गेडागुडीको बिउ उम्रिएमा त्यो वर्ष धान पनि राम्रो हुने विश्वास जनमानसमा रहिआएको छ ।
यो परम्परागत शैलीमा हावा पानी र मौसमको अवस्था मापन गर्ने तरिकाको रूपमा लिने गरीएको छ । उव्जाउ राम्रो बनाउन रोग किराको प्रकोप कम होस भन्ने कामना सहीत हरेलो पर्व मनाई गरीन्छ ।
फलेवास ४ मुडीकुवाका शागर गौडेलले पुरानो पुस्ता हराउँदै गएपछि पछिल्ला युवा पुस्तामा हरेलो पर्वको संस्कार पुस्ता हस्तान्तण नभएका कारण पर्व हराउँदै गएको बताए ।
सदरमुकाममा बजार क्षेत्रमा यस्तो हरेलो पर्व कम रुपमा मनाईने गरीएपनि पर्वतका गाउँ वस्ती फलेवास महाशिला पाङ खुर्काेट, बराचौर पैयुँ आर्थर लगायतका फाँटहरुमा यस्तो पर्व मनाउने गरेको पाईन्छ । धार्मिक आस्था र महत्व एक ठाउँमा भए पनि यो पर्व मान्ने केही वैज्ञानिक आधार पनि छन् । खेतको आलीमा गर्ने पूजा, धूप धँुवारले किरा फट्याङ्ग्रालाई निर्मुल पार्न जैविक विषादीको काम गरिरहेको हुन्छ । यस्ता संस्कार र परम्पराले खेती किसानको अनुशासनलाई पनि पछ्याइरहेको हुन्छ । पहाडी क्षेत्रमा यो परम्परा संरक्षित भएको भए पनि नयाँ पुस्ताका युवाहरू यो संस्कारलाई व्यवहारमा उतारेको देखिँदैन । कृषि क्षेत्रमा आधुनिकता भित्रिँदा यस्ता संस्कार र परम्परा भने लोपोन्मुख अवस्थामा पुगेको छ ।