लक्ष्मण विसी/आरसी टाइम्स
पर्वत, आषाढ १३
विषादीको जथाभावी प्रयोगको न्यूनिकरणका लागि पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा १६ हप्ते आई.पी.एम. कृषक पाठशाला सम्पन्न भएको छ । मुख्यमन्त्री जलबायुमैत्री नमुना गाउँ कार्यक्रम मार्फत भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्र पर्वतको आयोजना एवम् हराभरा सामजिक उद्यमी महिला सहकारी संस्थाको समन्वयमा गत माघ १ गतेदेखि संचालित उक्त पाठशाला गत शनिवार कृषक दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रवहादुर बुढा मगरले कृषिको आधुनिकीकरण र व्यवसायीकारणले मात्र कृषिमा क्रान्ति हुने बताए ।
कृषिको क्षेत्रमा देखिने समस्या समाधानका लागि उक्त पाठशाला फलदायी रहेको बताउदै सिकेका कुरा व्यवहारमा लागू गरि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । प्रदेश सरकारले कृषिको विकास र प्रबर्द्धन गरि समृद्धि प्रदेश बनाउन कृषकमुखी कार्यक्रमहरु संचालन गरेको उनले बताए । गोलभेडा खेतीमा बढ्दो बिषादीलाई न्यूनिकरण गर्नको लागि एवम् स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण र पर्यावरण सन्तुलन लगायतका विषयमा कृषकहरुलाई सचेत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिइन ।
संरक्षित संरचनामा गोलभेडा खेती गदै आएका कृषकहरुले आधुनिक खेती प्रविधि अवलम्वन गर्नका लागि समस्या भोगिरहेका तथा गोलभेडामा पात खाने किरा, डढुवा रोग, ओइलाउने रोग लगायतका विभिन्न समस्या भोग्दै आएको सन्दर्भमा पाठशालाले उत्पन्न समस्याहरुको पहिचान तथा समस्याको दिगो व्यवस्थापनका उपायहरुको अवलम्वन गर्न प्रेरित गरेको उनले बताइन । रोगकिराहरुको व्यवस्थाका लागि कृषकस्तरमा जथाभावी विषादीको प्रयोग बढ्दै गईरहेको देखिन्छ । पाठशालामा सहभागी कृषकहरुमा विषयवस्तुको ज्ञान, नेतृत्व क्षमता विकास, संगठनात्मक विकास जस्ता आयामहरुको विकासमा टेवा पुगेको ज्ञान केन्द्र प्रमुख थापाले बताइन् । पछिल्लो सयम बालीनालीमा विभिन्न किसिमका रोगकीराको समस्या बढ्दो अवस्था रहेको सन्दर्भमा उक्त पाठशालाले समस्याहरुको समाधान गर्न सहयोग पु¥याएको सहभागीको भनाइ थियो ।
कार्यक्रममा फलेवास नगरपालिका मेयर गंगाधर तिवारी, प्रदेशिक कृषि सचिव हरिवहादुर केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मी र सहभागीको तर्फदेखि दानवहादुर क्षेत्री लगायतले बोलेका थिए । हराभरा सामजिक उद्यमी महिला सहकारी संस्थाका निवर्तमान अध्यक्ष शोभाकुमारी क्षेत्रीले प्रतिवेदन प्रस्तुत गरिन । कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य प्राविधिक सहायक कामना न्यौपाने र कार्यक्रमको संचालन प्रशिक्षक विश्वास काफ्लेले गरेका थिए । पाठशालामा सहभागी सबैलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । कार्यक्रम समापनको अवसरमा सहभागीहरुले भजन, कृतन, गित, नाटक, कविता प्रस्तुत गरेका थिए ।