आरसी टाइम्स व्युरो
पोखरा, आषाढ १३
पोखराका शहरी उपभोक्ताहरुका लागि लक्षित कृषि उपज उत्पादन र बजारीकरण गर्दै आएका पोखरा २२ पुम्दी भुम्दी क्षेत्रका किसानहरुले ग्रामीण कृषि संकलन केन्द्र संचालनमा ल्याएका छन् ।
पोखरा—सुनौली यात्राका लागि सिद्धार्थ राजमार्गसँगै जोडिएको यो बस्ती पोखरा महानगरको तरकारी पकेट क्षेत्रका रुपमा चिनिएको छ । विगतमा पनि राजमार्ग कृषि विकास कार्यक्रमका माध्यमबाट छोरेपाटनमा बनाइएको कृषि उपज संकलन केन्द्र उपयोगमा नआएको र किसानको पहुँचमा हुन नसकेका गुनासाहरु आएका थिए । हालै किसानहरुले उत्पादकहरुका लागि पहुँचमा हुने गरि महानगर पालिका संग लगानी साझेदारी गरि संकलन केन्द्र निर्माण गरेको जनाएका छन् ।
घरबास पर्यटन क्षेत्रका रुपमा समेत चिनिएको पुम्दीको कालाबाङ्ग घडेरी क्षेत्रमा निर्माण भएको कृषि उपज संकलन केन्द्रमा निर्माण सम्पन्न गरि हालै कारोबार शूभारम्भ गरिएको छ ।
संकलन केन्द्रका लागि रु ४ लाख ३५ हजार कुल लागत रहेकोमा कालाबाङ घडेरी कृषक समूह ले रु ७५ हजार र महानगर कृषि महशाखाले रु ३लाख ६०हजार लगानी गरेको महानगर कृषि महाशाखाले जनाएको छ ।
कृषक समूहको व्यवस्थापनमा हुने संकलन केन्द्रका लागि समुहका अध्यक्ष ध्रुव पौडेलले बाटो छेउको आफ्नै जग्गा उपलब्ध गराइ सहयोग पुर्याएको बताइएको छ ।