आरसी टाइम्स व्युरो
पोखरा, असार ११
पशुजन्य उत्पादनमा आत्म निर्भर बनाउने दावी गर्दै आएको गण्डकी प्रदेशमा छालामा गीर्खे रोग ( लम्पी स्कीन) फैलिएर पशु पालन गरिरहेका किसानहरुमा कोलाहल मच्चिएको छ । प्रदेशका ११ जिल्ला मध्ये मनाङ्गमा मात्रै लक्षण नदेखिएको र मुस्ताङ्ग जस्तो हिमाली जिल्लामा पनि रोग देखिएको प्रदेश पशुविकास निर्देशक मनबहादुर पुनले जनाएका छन् । पशु रोग अन्वेषण प्रयोगशालाका पोखराका प्रमुख केदारराज पाण्डेका अनुसार विगत ३ वर्षमा यो रोगको विस्तार बढदो रुपमा रहेको छ । तीन वर्ष पहिले आर्थिक वर्ष २०७७÷०७८ मा ६ जिल्लामा देखिएको र दोस्रो वर्षमा ३ जिल्लामा संकुचन भएको भएपनि तेस्रो वर्षमा १० जिल्लामा संक्रमण फैलिएको प्रयोगशाला प्रमुख पाण्डेले जनाएका छन् ।
रोपाइगर्ने बेलाका गोरु विरामी परेर पनि किसानलाई मर्का परेको छ भने दुधालु चौपायामा रोग फैलिएकाले दुग्ध उतपादन प्रभावित भएको निर्देशक पुनले जनाएका छन् । निर्देशक पुनका अनुसार पशु मृत्युदर कम भएपनि उत्पादनमा गिरावट आउने र दुग्ध उत्पादन खस्कने अवस्था आउनसक्ने अनुमान गरिएको छ । आर्थिक वर्षको अन्तीम अवस्थामा बजेट सकिएको अवस्थाले उपचार प्रभावित भएको र रकमान्तर गरेर भएपनि पालिकाहरुले खोप तथा उपचार शिविर संचालन गरेको पुनको दावी छ । महामारी रोग नियन्त्रण कार्यक्रमबाट उपचारात्मक प्रयास थालिएको र आगामी वर्षमा पुर्ण खोप अभियानमा यो रोगको खोपलाई पनि समेटने तयारीमा प्रदेश निर्देशनालयले गृहकार्य थालेको निर्देशक पुनले जनाएका छन् ।
गीर्खे रोगबाट पोखरा महानगरका सबै ३३ वडामा संक्रमण देखिएको छ । आइतबार सम्मको सूचना अनुसार पोखरामा ६६४१ चौपाया संक्रमित तथा विरामी रहेका र १७२ चौपाया मृत्यु भएको तथा मृत्यु हुनेमा गाइ बढी रहेको महानगर पशुसेवा प्रमुख नवराज अधिकारीले जनाएका छन् ।
पोखरामा गत महिनामा संक्रमण दर उकालीदै गएको २ महिनामा ६६४१ चौपाया विमारी भएकामा १७२ मृत्यृ भएको जनाइएको छ । ३९ हजार चौपाया रहेकोमा महानगरले ४५०० मात्र खोपको दायारामा लिन सकेको र सबैलाई खोप लगाउने हैसीयत नभएको अधिकारीले जनाएका छन् । निजीरुपमा पनि करिव २ हजारमा खोप लगाइएको आँकडा रहेको पनि अधिकारीले जनाएका छन् । महानगरले ठुलोसंख्यामा खोप खरिद गर्दा टेण्डर प्रकृयामा जानु पर्ने र तत्कालको संकटमा ढिलाइ हुने अवस्थाले खोपको सिमा हुन पुगेको, उपचारात्मक शिविरहरु सक्रिय पारिएको पनि अधिकारीले दावी गरेका छन् ।
कास्की जिल्लाका सबै पालिकाहरु यसबाट प्रभावित छन । पशुसेवा विज्ञकेन्द्र प्रमुख शम्भू पाण्डेका अनुसार कास्कीमा ८१३५ चौपायामा संक्रमण देखिएकोमा २११ को मृत्यु भएको छ । कतिपय अवस्थामा रोगका लक्षणहरुका आधारमा गरिएको उपचारले रोग नियन्त्रणमा आएको तथा लामोसमय उपचार निगरानीमा राखेर हेर्नुपर्ने पाण्डेले जनाएका छन् ।
कतिपय अवस्थामा संक्रमित पशुमा उत्पादन घटने र बाँझोपन हुने कुरा सुनिएपनि यसको प्रभावकारी अध्यययन नभइसकेको अवस्थामा कुनै अनुमान गर्नु उपयुक्त नहुने पाण्डेले जनाएका छन् ।
प्रादेशिक रुपमा स्थानीय सरकार र प्रदेश सरकारका बीचमा समन्वय र सूचना लेलदेनको प्रणाली कमजोर रहेकाले प्रादेशिक रुपमा पालिकागत प्रभाव र संक्रमणका सूचना एकिकरण गर्न नसकिएकाले क्षतिको आँकडा निश्चित हुन बाँकी छ । पशु चिकित्शकहरुले जैविक सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेका छन् । भुसुना माखा र लामखुट्टेबाट सर्ने यो रोग नियन्त्रणगर्न प्रदेश सरकारलाई चुनौति देखिएको छ ।