आरसी टाइम्स व्युरो
पोखरा, माघ २२
विद्यालय शिक्षाका माध्यमबाट किसान र उपभोक्ताका घरघरमा असल कृषि अभ्यासका चेतनाहरु विस्तार गर्न कृषि प्राविधिकहरुले विद्यालय विद्यार्थीहरूलाई बिषादी सचेतना पाठशालाका रुपमा सम्बाद सृंखला चलाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ कास्कीले हालै कास्ककिो हेमजा स्थीत विष्णु पादुका माध्यमिक विद्यालय र जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिकका विद्यार्थी शिक्षकहरुका विच चर्चित कलाकारहरुबाट विषादि सचेतना प्रहसन समेत गराएको छ ।
उक्त अवसरमा बाली संरक्षण प्रयोगशालाबाट सचेतना सम्बाद समेत प्रस्तुती गरिएको जनाइएको छ ।
परियोजनाको तरकारी सुपर जोनको कार्यक्षेत्र हेम्जा र भणडारढिक क्षेत्र विषादी प्रयोगको दृष्टिले अत्यधिक प्रयोग हुने क्षेत्र तथा असावधानीपूर्वक विषादी प्रयोग हुने क्षेत्र भएकोले विद्यालयका विद्यार्थीहरुमार्फत विषादीको प्रयोगबारे सचेतना कार्य गर्दा उत्पादक एवं उपभोक्ताका सन्दर्भमा समेत उल्लेख्य जानकारी सम्प्रेषण हुन जाने भएकोले तहाँ विद्यालयका विद्यार्थीहरु लक्षित गरी कार्यक्रम सञ्चालन गरीएको परियोजनाका कास्की प्रमुख रोशन अधिकारीले जनाएका छन् ।
कार्यक्रममा हास्य कलाकारद्वय पोखरेली माग्ने बुढो( युवराज भण्डारी) र लट्टे (राजेन्द्र नेपाली) ले विषादी सचेतना सम्बन्धि प्रहसन प्रस्तुत गरेका थिए भने बाली संरक्षण प्रयोगशाला गण्डकी प्रमुख शालिकराम अधिकारीले विषयगत सम्बाद चलाएका थिए ।
कार्यक्रममा विषादी छनौट गर्दा प्राविधिक सल्लाहमा गरिनुपर्ने, विषादी तयार गर्दा तथा छर्कदा सही मात्रा एकिन गरि सही समयमा सुरक्षित पहिरन लगाई प्रयोग गर्नु पर्ने बिषादीको प्रयोगबाट हुने असरहरु, विषादी प्रयोग पछि उपभोग बिचको समयको फरक, विषादी प्रयोग गरी उत्पादन गरेका तरकारीको उपभोगमा पुर्याउनु पर्ने सावधानी लगयतका जानकारीमार्फत विद्यार्थीहरुलाई सचेत गराइएको थियो । कृषक एवं उपभोक्तामा विषादी र यसका दुस्प्रभावबारे चेतना फैलाइ विषादीको असुरक्षित प्रयोगबाट हुनसक्ने दुर्घटना तथा जोखिमलाई न्यूनीकरण गरि मानव स्वास्थलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको जनाइएको छ ।