माघ शुक्ल पूर्णीमाको चन्द्रमाले गण्डकीका किनारमा बसिरहेका व्रतालुहरूको अनुहार उज्यालो पार्दै थियो । स्वस्थानीको अन्तिम दिन, आठकोणको आरसीमा ओमकार लेखेर, केन्द्रमा अस्तित्वको पुजा गदै कामना पुर्तिको आव्हान र साधना । यो कथा समापन होइन—शुरुवात थियो । श्रीमहादेवका जेठा पुत्र कार्तिकेयको अर्को नाम स्कन्दले शरीरको रहस्य खोल्दछ । स्कन्दपुराणको गहिराइमा जङ्गमतीर्थ (शरीरका चक्रहरू) लाई जागृत गर्ने भौमतीर्थको यात्रा लुकेको छ ।
यसैगरि जालन्धरको सामुद्रिक रहस्य पनि सान्दर्भीक छ । विशाल समुद्रबाट जन्मेका जालन्धर, लिङ्गपुराणले यही कुरा भन्छ । भूमिगत जलमण्डलको गर्भबाट निस्केर हिमालयको काख सम्म आउने पानीचक्रको कथा । वृन्दाको पातिव्रत्य भङ्गको पछाडि गरुङ्गोपानी (भारी पानी) को पातालबाट हलुङ्गोपानी (हलुका पानी) तर्फको यात्रा लुकेको छ ।
ऐतरेयोपनिषद्को चार प्रकृति पानीले यो प्रमाणित गर्छ। मेघनाद (इन्द्रजित) ले मेघलोक जितेजस्तै सूर्यतापले समुद्रलाई वाष्प बनाउँछ । १८ आइसोटोप्सको गरुङ्गो पानी पातालको प्रतीक हो भने हिमालयको चोखो पानी ऋषिमन हो।
गण्डकी प्रदेश अन्नपूर्णाको हलुङ्गोपानीले सिँचित भूमि हो। यहाँको हरेक दाना गोमादेवीको अक्षताजस्तै पवित्र छ । दामोदर शिखरबाट निस्कने नौधारा शालग्रामी शालिग्रामचक्रको साक्षी बनेर तराईसम्म आउँछन् ।
स्वस्थानी भनेको आफ्नो भूमि हो। स्वस्थानीदेवी त्यही भूमिको रक्षक। शिवशर्मा ब्राह्मण महादेव स्वरूप थिए। गोमाको जन्म गोवरबाट भएको कुराले प्राङ्गारिक कृषि को महत्व सिकाउँछ। सात वर्षे गोमाको सत्तरी वर्षे विवाह अजन्मा शिवशक्तिको लीला थियो—मानवीय उमेरको सीमा लागू हुँदैन।
यो सन्दर्भ दिगो विकासको मौलिक रणनीति थियो । गण्डकी प्रदेश सरकारसमक्ष चार सुनौलो अवसर छन् ः अन्नपूर्ण हिमाल . विशालाक्षीको जीवन्त मूर्ति ,स्कन्दपुराण हिमवत्खण्ड . विश्व हिन्दु तीर्थालुको आकर्षण, स्थानीय पुराणः जर्मन प्रविधिमा डिजिटाइज्ड, छाप्न सकिन्छ, पोखरी–चौतारी संस्कृति . जलवायु अनुकूलनको प्रत्यक्ष प्रदर्शन ।
एनजीओको शब्दजाल होइन, स्वस्थानीको आस्थाले जलवायु परिवर्तन बुझाउन सकिन्छ । शालिग्राम, पीपल, तुलसी, कुशको सनातन संस्कृति प्राङ्गारिक कृषिको आधार बन्न सक्छ ।
यसैगरि भारतीय स्कन्दपुराण भन्दा पुरानो हाम्रो पुराण संग्रहालयमा छ। यो माइक्रोफिल्ममा सुरक्षित छ। प्रदेश सरकारले प्रतिलिपि छापेर स्वस्थानीको समयसापेक्ष व्याख्या गर्न सक्छ। जलवायु अनुसन्धानकर्तादेखि तीर्थालुसम्म सबैलाई आकर्षित गर्ने यो मौलिक रणनीतिले धर्मनिरपेक्ष आरोपबाट मुक्त हुन्छ, जनसहभागिता लाई प्राथमिकता दिन्छ र दिगो पर्यटनको आधार बनाउँछ ।
स्वस्थानी हाम्रो भूमि हो। यो भूमिको रक्षा र समृद्धि नै हाम्रो स्वस्थानी व्रत हो। गण्डकी प्रदेशले यो आस्थालाई विकासको इन्धन बनाएर विश्वमाझ नयाँ पहिचान स्थापित गर्न सक्छ । हिमालयको चोखो पानीले सिँचिएको यो भूमि स्वस्थानी हो। यसको रक्षा हाम्रो धर्म हो ।
