गोपाल जिटी/आरसी टाइम्स
वालिङ्ग, आषाढ १३
स्याङ्जाको वालिङ नगरपालिकामा बाख्रापालन व्यवसायलाई प्रवद्र्धनात्मक क्रियाकलाप माग गर्दै व्यवसायीहरुले माग गरेका छन् । गत शनिबार वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरस्तरीय बाख्रापालन महासंघले व्यवसाय प्रवद्र्धनमा टेवा पुगोस भन्ने हेतुले नगरप्रमुख कृष्ण खाँडलाई मागपत्र पेश गरेका छन् ।
महासंघका अध्यक्ष अर्जुन पङ्गेनीको अगुवाइमा पेश गरिएको मागपत्रमा नियमित खोप सेवा, आन्तरिक परजीवि विरुद्ध औषधी उपचार सेवा, कृत्रिम गर्भाधान निशुल्क सेवा र प्रभावकारी रुपमा सञ्चालनको व्यवस्था गराउन उल्लेख गरिएकोे छ । यसैगरी कम्तिमा प्रत्येक वडामा बाख्रा तथा कृषि संकलन केन्द्र स्थापना गर्ने, पशु बीमा निःशुल्क हुनुपर्ने र व्यावसायिक फर्महरुको वर्गीकरण गरी प्रजननका लागि बीउ र कृषि फर्म तथा मासु उत्पादन फर्मको रुपमा सूचिकृत गरिनुपर्ने माग गरिएको छ । नगरस्तरीय बाख्रा व्यावसायी महासंघको प्रतिनिधि समेतको पशु विकास कार्यदल मार्फत अनुदान कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, फर्महरुमा दक्ष प्राविधिकबाट मासिकरुपमा अनुगमन गरी सुझाव दिनुपर्ने माग पत्रमा उल्लेख छ ।
नगरभित्र अनुमति बिना बाहिरबाट बाख्रा ल्याउन नदिने र नगरभित्र कृषि एम्वुलेन्सको व्यवस्था गरिनुपर्ने पनि किसानहरुले माग गरेका छन् । चर्को व्याजबाट व्यावसायीहरु धरासायी भैरहेकाले व्यावसायीलाई परियोजनाका आधारमा सहुलियत ऋण प्रदान गर्न नगरपालिकाबाट व्याज अनुदान कार्यक्रम सञ्चालन गरिनुपर्ने, बीउ पूँजीकोरुपमा व्यवसायीहरुलाई सस्तो व्याजदरमा बीउ पूँजी कोष मार्फत ऋण उपलव्ध गराउन समेत किसानहरुको मागपत्रमा समेटिएको छ ।
मागपत्र बुझ्दै नगर प्रमुख खाँडले कृषकहरुका मागका आधारमा कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता जानाएका छन् । यस पटकको वार्षिक बजेटमा कृषिक्षेत्रको प्रवद्र्धनका लागि प्राथमिकता दिएको जानकारी गराउँदै नगर प्रमुख खाँडले बाख्रापालन लगायतका कृषि कर्मले स्वरोजगारी सिर्जना हुने बताए । उनले आँफूपनि कृषि पेशा गर्दै आएको भन्दै व्यावसायिक कृषकको समस्याका बारे राम्रो हेक्का भएको उल्लेख गरे । यसका साथै नगर प्रमुख खाँडले कृषि व्यावसायको प्रवद्र्धनका लागि नगरपालिका सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
व्यवसायीका हकहितमा काम गर्ने उद्देश्यले बाख्रापालक कृषकहरुको छाता संगठन नगरस्तरीय बाख्रापालन महासंघ गठन गरी संगठितरुपमा अगाडि बढाइएको अध्यक्ष पङ्गेनीले बताए । १४ वडा रहेको रहेको वालिङ नगर क्षेत्रमा झण्डै ३ हजार बाख्रा रहेको महासंघका सचिव रुक्मागत ढकालले जानकारी गराए ।