शिला पाण्डे/आरसी टाइम्स
पर्वत,मंसीर २७
गतवर्ष देखिको कोरोनाको महामारीका बीच जिल्लामा स्थानीय प्रजातीका लोकल कुखुराको व्यवसायीक पालनमा स्थानीय युवाहरु सक्रिय रुपमा लागि परेका छन् । प्रतिगोटा भाले २ हजार पाँच सय र पोथी २ हजार रुपैयाँमा विक्रि हुने भएपछि स्थानीय युवाहरु लोकल कुखुरा पालनमा सक्रिय बनेका हुन् ।
खाँदा मिठो मानीने तथा समयमा विकेन भन्ने चिन्ता र डर पनि कम भएका कारण स्थानीय प्रजातिका कुखुरा पालनमा युवाहरु सक्रिय रुपमा लागि परेका छन् । स्थानीय तहले रैथाने पशुपंक्षीको संरक्षण गर्नको लागि अवधारणा पनि ल्याएका छन् भने अनुदान पनि दिने गरेका छन् ।
सरकारी चासोमा खासै नपरेपनि मासु पारखीहरुको लागी स्वादिष्ठ हुने, अगार्नीक मानीने हूँदा माग बढेपछि पर्वतका युवाहरुले लोकल कुखरा पालनमा चासो देखाएका हुन । मोदी गाउँपालिका खड्क केसी र दुर्गा पौडेलले पनि लोकल कुखुराको व्यवसाय संचालन गरेका छन् । बोइलरको जस्तो ४५ दिनमा कुखुरा बेचिहाल्नुपर्ने चिन्ता नहुने भएका कारण लोकल खुकुरा पाल्न थालेको दुर्गा पौडेलले बताए । उनले गत वर्ष पाँचसय बोइलर कुखुरा पालेर बेचेको थिए भने यो वर्षपनि दुई सय कुखुरा बेचिसकेका छन् ।
लोकल र बोइलर कुखुरा पालनमा धेरै फरक हुने उनले बताए । लोकल कुखुराले स्थानीय अन्नपात खाने भएका कारण सजिलो हुने र समयमा विक्रि भएन भनेर चिन्ता गर्नुपर्ने कुनै डर नभएका कारण पाल्न सजिलो भएको उनी बताउँछन् । बोइलर कुखुरा ४५ दिनमा विक्रि नभएर तौल कम हुने र दानाको खर्च अधिक बढ्ने भएका कारण नोक्सानीको मात्रा बढी भएको उनी बताउँछन् ।
स्थानीय हावा पानीका हुर्कने र रोग महामारीको समस्या कम हुने भएपछि पनि यस प्रजातीको कुखरा पालनमा युवाहरु लाग्न थालेको पौडेलले बताए । उनले अहिले बोइलर, लोकलकुखुरा र बाख्रा पनि पालेका छन् ।
यसै गरि कुश्मा सातका गौरव क्षेत्रीले लोकत कुखुरा पाल्न थालेको एक वर्ष हुन लागेको छ । पहिलो लटमा पचासको संख्यामा लोकल कुखुरा पालेर आम्दानी गरेका क्षेत्रीले बजार क्षेत्रमा माग बढेसँगै अहिले संख्या बढाएर सय पु¥याएको बताए । कुश्मा बजारमै लोकल कुखुराको फार्म खोलेका उनलाई बजारको कुनै अभाव नभएको बताए । लोकल कुखुरा अहिले होटलमा खपत भइरहेको छ । मागलाई धान्न नसकिने अवस्था भएको पनि उनले बताए ।
विषेश गरी होटल सञ्चालकहरुले लोकल कुखुरा घरमै आएर लग्ने र सुत्केरी गर्भवतीको लागि पनि लोकल कुखुराको माग बढी रहेका कारण व्यवसायमा लागीरहेको युवाले बताएका हुन । हराउँदै गएको जातको जगेर्ना गर्न पनि आँफुहरुले गाउँदेखी लोकल जातको कुखुरा संकलन गरेर धेरैको संख्यामा पालेको क्षेत्रीले बताए ।
कुश्माकै मनोज क्षेत्रीले २ करोडको लगानीमा ह्याचरी सहितको फार्म नै खोलेर लोकल कुखुरा, बनकुखुरा (कालिज),कर्कनाथ, टर्की लगायतका कुखुरा पालेका छन् । आफै चल्ला उत्पादन र विक्रिवितरण पनि गर्दै आएका छन् । लोकल कुखुरामा पछिल्लो समय माग बढ्दै गएको र कतिपय स्थानीय तहले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम नै चलाएको र सो कार्यक्रममा लोकल कुखुरा दिने गरेका कारण पनि लोकल कुखुराको माग पर्वतमा बढिरहेको छ ।
स्थानीय प्रजातीका कुखुराको माग पछिल्लो समयमा तारे होटल, होमस्टेमा पनि बढिरहेका कारण युवाहरु लोकलकुखुराको व्यवसायमा होमिएका हुन् ।
गैरसरकारी संस्थाहरुले जिल्लाका दक्षिण भेगमा रहेका किशोरीहरुलाई लक्षित गरी कुखुरापालन व्यवसायलाई अगाडी बढाएका छन् । प्रति किशोरी ४० वटा निशुल्क कुखुराका चल्ला वितरण गर्दै गैैरसरकारी संस्थाले पनि जिल्लामा लोकल कुखुराको उत्पादनमा टेवा पु¥याइरहेका छन् ।